काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा अधिकांस अख्तियारमा कार्यरत प्रहरी रहेका छन् । अख्तियारको स्ट्रिङ अपरेसनमा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्रयाक ट्रेसिङमा रहेका १ सय ८२ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर परिक्षणका लागि गत आइतबार अख्तियार परिसरमा स्वाव संकलन गरेको थियो । महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामध्ये अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ ।
यसअघि अख्तियारबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका एक प्रहरी नायव निरिक्षकसहित दुई जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासमेत कोरोनाको उच्च जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । देशभर हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले उच्च सतर्कता अपनाउन भनेको हो ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै सर्वसाधारण सबैलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न, अतिआवश्यकीय कामबाहेक घरबाहिर ननिस्कन, भिडभाड नगर्न र चाडपर्वहरु घरमै बसेर मनाउन अपिल गरेको छ । घरबाहिर निस्कदाँ सामाजिक दुरी कायम गरि अनिवार्य मास्क लगाउन पनि भनिएको छ ।
शंकास्पद संक्रमितहरुको खोजी गर्ने काम तिव्र रुपमा भइरहेको भन्दै मन्त्रालयले संक्रमित र शंकास्पद व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले नजिकको स्वाव संकलन केन्द्रमा बिहानको ९ बजेदेखि दिउँसो १ बजेसम्म गइ स्वाव परिक्षण गर्न अनुरोध गरेको छ ।









































