काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली सुदर्शन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
नेकपा निकट स्रोतका अनुसार बुधबार भएको भेटमा दुई नेताहरु बिच पार्टीमाथि लगाइएको प्रतिबन्ध हटेपछिको समसामयिक राजनीति र नेपाली कम्युनिस्ट आन्दोलनको आगामी कार्यभारका बारेमा छलफल भएको हो ।
ओली प्रधानमन्त्री रहेका बेला नेकपामाथि प्रतिबन्ध लगाइ दुई वर्षपछि गत फागुन २० गते तीन बुँदे सहमति गरी प्रतिबन्ध हटाइएको थियो । नेकपाले प्रतिबन्ध हटेपनि सरकारसँग भएको सहमति कार्यान्वय नभएकोबारे पटक पटक सरकार राजनीतिक दल र सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ ।
सरकार र नेकपाबिच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने सहमति भएको थियो ।