-मेघराज ओली
कोरोनाको चर्चाका बीच भारत गएको थिएँ । त्यतिबेला नयाँदिल्लीमा ८ जना कोरोना सङ्क्रमित भेटिएका थिए । म दिल्लीबाट आएको ८५ औँ दिनपछि कोरोना पोजिटिभ देखियो । श्रीमती बाँके खजुरा गाउँपालिकाको स्वास्थ्य शाखा उपप्रमुख अर्थात नर्सिङ अधिकृत हुन् । उनी समुदायमा गइराख्नुपर्ने, महामारीको बेला व्यवस्थापनमा खटिनुपर्ने हुँदा समुदायबाट कतै सब्क्रमण भयो कि आशङ्का भयो । विदेशबाट आएका मानिसहरूको चेकजाँचका लागि ल्याएको पिसिआर किट सर्वसाधारण चेकजाँचमै नगएपछि ३ वटा किट बचेको रहेछ । त्यही किट सुरक्षा र स्वास्थ्य क्षेत्रका व्यक्तिको परीक्षणमा सदुपयोग गरियो । मेरी श्रीमतीमा लक्षण देखिएपछि परिवारलाई डर भो । त्यसपछि जाँच गर्दा छोराछोरीको रिपोर्ट नेगेटिभ आयो । मेरो पोजिटिभ आयो । यो जेठ ११ गतेको कुरा हो ।
हामी मानसिक रुपमा पहिलेदेखि नै तयार थियौँ । उनी स्वास्थ्य क्षेत्रमा काम गर्ने र म पत्रकारितामा भएको हुनाले । कोरोना आयो भनेर घरभित्रै बसेनौँ । केही दिन बस्यौँ तर दुवैको काम बाहिर परिरहने हुनाले निस्कनै पर्यो । हामीले स्वास्थ्य सतर्कता अपनाएका थियौँ । कोरोनाको चर्चा आइसकेपछि हटलेमनसँग दूध, बेसार, तातो पानीको बाफ लिने, तुलसीको पात खाने गरिराखेका थियौँ । श्रीमतीलाई कोरोना पोजिटिभ देखिएपछि असाध्यै डिस्टर्ब भयौँ । भन्नै नसकिने पीडा भयो । साथीहरूको फोन आउने, चारैतिरबाट कुरा हुने, त्यस्तोमा फोन उठाउन र कुरा गर्न झन् अप्ठ्यारो हुने । रिपोर्ट आउने दिन पनि उनी एउटा अनलाइन सेमिनारमा थिइन् । एक्कासी भेरी अञ्चल अस्पतालको मेसुले मलाई फोन गर्नुभयो । होइन, सम्हालिनुपर्छ भनेर मैले उनलाई त्यो प्रोग्रामबाट निस्कन भनेँ । रिपोर्ट आएको कुरा सुनाएँ । उनीपनि एकदमै आत्तिइन् । सम्हालिएर आफ्नो तयारी गर्यौँ, अर्को कोठामा उनलाई राखेँ । थाहा पाइसकेपछि बच्चाबच्चीलाई पनि दूरी कायम गरेर बस्न भनेँ । त्यो दिन उनी घरमै बसिन् र भोलिपल्ट खजुरा क्यान्सर हस्पिटलको आइसोलेसनमा भर्ना भइन् । तीन दिनपछि मेरो पनि पोजिटिभ आयो । दुवै जना फिल्डमा काम गरिरहेको र देखे÷सुनेको हुनाले मेरो रिपोर्ट आउँदा त्यति धेरै तनावचाहिँ भएन । जति उनलाई हुँदा मलाई पीडा भएको थियो त्योभन्दा कम भयो । एउटा कारण त उनी त्यहाँ एक्लै थिइन् । अब सँगै हुने भइयो । दुवैजना सँगै हुँदा एकआपसमा काउन्सिलिङ हुन्छ भन्ने भयो । अर्को के विश्वास थियो भने, कोरोनालाई जित्न सकिन्छ । त्यसका लागि आफैँ बिरामी आफैँ चिकित्सक हुनुपर्छ भन्ने विश्वास थियो । व्यायाम गर्ने, खानपानमा ध्यान दिने, कोरोनालाई जित्न औषधी त छैन यस्तो अवस्थामा उच्च प्रोटिनयुक्त खानाहरू काजु, किसमिस, छोडाहरू खाने, बेसारयुक्त खाने, तातो पानीको बाफ लिने, गुर्जो भन्ने जडिबुटी छ त्यसले कोरोनाको भाइरससँग जुध्न एकदमै फाइदा गर्दोरहेछ । हामी श्रीमान÷श्रीमतीमध्ये उनको १७ दिन र मेरो १३ दिन बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म यसैगरी बित्यो । यसको परिणामस्वरुप मेरो रिपोर्ट एकसातामै नेगेटिभ आयो ।
सरकारी नीति पहिचान लुकाउनुपर्छ र सुरक्षा दिनुपर्छ भन्ने थियो तर मैले लुकाउनुहुँदैन भन्ने ठानेँ । यसरी सबैले पहिचान लुकाउने हो भने भोलि यसले समाजमा अर्को किसिमको आतंक फैलाउँछ । लुकायो भने झनै मनोवैज्ञानिक डर पैदा गर्छ भन्ने सोचेर मैले थाहा पाउनासाथ सामाजिक सञ्जालमै लेख्न सुरु गरेँ ।
सङ्क्रमितप्रतिको सामाजिक दृष्टिकोण
हुन त समाजको धारणा परिवर्तन गर्न त्यति सजिलो छैन । त्यो म स्वयंले पनि भोगेँ । मैले आइसोलेसनबाट नै लेख्ने गर्थें कि, कोरोना जित्न त सजिलो छ तर समाजको मनोविज्ञान जित्न गाह्रो छ । उच्च मनोवल भएमात्र कोरोनासँग जुध्न सकिन्छ । श्रीमती र मलाई सङ्क्रमण भएपछि वरिपरिका मान्छेहरू आफ्नै घरको छतमा पनि निस्कन छोडे । हामीले हाम्रो घरको गेट बन्द गर्यौँ । तर मान्छेहरू टाढैबाट पनि बोल्न छोडे । त्यो क्षण कसरी सम्झनु ? एकदमै पीडा हुन्छ । त्यो उनीहरूको दोष पनि होइन । कोरोनाबारे आतंक राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै फैलाइएको थियो । त्यसको परिणाम हाम्रो समाजले त्यसकिसिमको व्यवहार गरेको हो । कोरोना पोजिटिभ हुँदाबित्तिकै सबै खत्तमै भयो, बर्बादै भयो, मरिने नै भयो, त्यसको नजिक नै पर्न हुँदैन भन्ने त्रास र आतंकको असर हो यो । समाजको मनोविज्ञानका कारण बिरामीको मनोबल घट्ने र बढ्ने हो । यदि बिरामीको मनोबल गि¥यो भने भाइरसलाई जित्न सकिँदैन । त्यसकारण सामाजिक मनोविज्ञानबारे राज्यका निकायहरूले अलि सुसूचित गराउनुपर्ने हुन्छ । राज्यले कोरोनाको नाममा ठूलो बजेट खर्च गरेको छ तर त्यसको परिणाम राम्रो आउन सकेको छैन ।
आइसोलेसनको बसाइ
मैले आफैँ बिरामी, आफैँ चिकित्सक किन भनेको हो भने, आइसोलेसनमा बसेको सङ्क्रमितको नजिक कोही पनि आउँदैनन् । यदि कोहि सिकिस्त भए आउछन् नत्र कोही आउँदैन् । आइसोलेनसमा एकदमै नारकीय जीवन छ । हामी अलि पहुँच भएका भयौँ । श्रीमती गाउँपालिकाकै स्वास्थ्य उपप्रमुख, म पनि पत्रकार । त्यसैले पनि हामीलाई अलि बढि चासो दिइयो होला तर त्यहाँ कस्तो हुन्छ भने एक कार्टुन पानी ढोकामा लगेर राखिदिएको हुन्छ । केही बेरमा हामी गएर पानी ल्याउने हो । तुरुन्तै पनि जान पाइँदैन । बिहान ८ बजे नास्ता हुन्छ । ढोकामा हानेर नास्ता भुँइमा राखेर जान्छन्, पछि उठाएर खाने हो । त्यही कोठाभित्र बन्द जिन्दगी बिताउने हो ।
पहिचान लुकाउने हो भने भोलि यसले समाजमा अर्को किसिमको आतंक फैलाउँछ । लुकायो भने झनै मनोवैज्ञानिक डर पैदा गर्छ भन्ने सोचेर मैले थाहा पाउनासाथ सामाजिक सञ्जालमै लेख्न सुरु गरेँ ।
यसबीच पत्रकारिताकै काम, रिपोर्टिब भने गरिनँ । त्यो बेलामा पत्रकारिता, बच्चाबच्चीको अवस्था, अरु काम आदितिर दिमाग लगाएँ भने कोरोनालाई जित्न सक्दैनौँ भनेर पनि मैले बाह्य कुरामा ध्यान दिइनँ । आफ्नो अवस्थाबारे अरु पत्रकार साथीलाई जानकारी भने दिइरहन्थेँ । मलाई पत्रकार महासंघको केन्द्रबाट कसैले सम्पर्क गर्नुभएन । तर प्रेस युनियनको अध्यक्ष बद्रि सिग्देलले गर्नुहुन्थ्यो ।
निको हुन्जेलसम्मको अवस्था
म पहिलोपटक एम्बुलेन्समा चढेको हो । घरमा पनि पहिलोपटक एम्बुलेन्स आएको हो । सुरुमा श्रीमतीलाई देखिएपछि उसले आफ्नै गाउँपालिकाको एम्बुलेन्स बोलायो । पिपिइ लगाएको ड्राइभर आएर लिएर गए । त्यो हुँदाबित्तिकै घर पुरै सेनिटाइज गर्यौँ । एम्बुलेन्स आउनु, पिपिइ लगाएको मान्छे आउनु, घर पुरै सेनिटाइज गर्नु यी सबै कुराले वरिपरिको समाज पुरै आतंकित हुने नै भयो । फेरि तीनदिनमा उही प्रकृया दोहोरियो मलाई संक्रमण हुँदा । मेरो घर बजारको बीचमा छ । त्यसकारण पनि वरिपरिका मान्छेले सबै देखेका थिए । जसले उनीहरूलाई मनोवैज्ञानिक असर गर्यो । आतंकित भए । पहिलो दिन त कोही बोल्दा पनि बोलेनन् । दोस्रोपटक म जाने बेलामा भने अलिअलि बाहिर निस्किएका थिए । पहिलो दिन उनी जाँदा केही मान्छे रोए पनि । त्यस्तो किसिमको आतंक फैलियो । म आफूलाई पनि एम्बुलेन्स चढिसकेपछि नानाथरीको सोचहरू आयो । मान्छे सबै आतंकित छन् । अवस्था के हुने हो थाहा छैन । मन गह्रौँ हुने । तर पनि हामी आफैँ जान्ने बुझ्ने भएर त्यस्तो सोचियो भने समाज के होला झन् ? त्यतिबेला कोरोनाको डर अत्याधिक बढ्दो थियो । कोही सङ्क्रमित हुँदाबित्तिकै बर्बादै भयो भन्नेजस्तो थियो । हस्पिटल पुगेपछि पनि एम्बुलेन्समा लिन, छोड्न कोही नआउने रहेछ । गाडी रोकेपछि म अगाडि अगाडि हिँडिरहेको छु पछाडि पछाडि पिपिइ लगाएको मान्छेले बाटो सेनिटाइज गर्दैछ । यसरी क्याबिनमा पुगेपछि पनि बाहिर ढोकादेखि सबै सेनिटाइज ग¥यो । यो त कल्पनाभन्दा बाहिरको कुरा भयो । मरिहाल्छु कि भन्ने नलागे पनि कति दिन लाग्ला भन्ने चिन्ता त स्वभाविक रुपमै थियो ।
स्वास्थ्यकर्मी वा कर्मचारीको व्यवहार
त्यहाँ जाँदाखेरि सबै निराश थिए । अनि स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि नजिक नआउने । उनीहरूमा मनोबल कमजोर थियो । यो सब्क्रमणको त्राससँगै फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई परामर्शको जरुरी थियो । अहिले पनि जरुरी छ । त्यसपछि स्वास्थ्यकर्मीहरूले बिरामीसँग गएर परामर्श गरे भने बल्ल मनोबल उच्च हुने हो । तर त्यहाँ त्यस्तो केही देखिएन । त्यसतर्फ कसैको ध्यान नै गएको छैन ।
कसैले एकदमै सामाजिक दूरी पनि नराखी अँगाल्नुभयो । एकाध भने बाहिर निस्कनुभएन । अरु भेट्न आउने मान्छेलाई पनि त्यहाँ नजाऊ, कोरोना पोजिटिभ छ भन्नेसम्मको व्यवहार गर्नुभयो ।
सङ्क्रमणमुक्त भएपछि अन्यको व्यवहार
कोरोनामुक्त भएर डिस्चार्ज हुँदैछु भन्ने थाहा पाइसकेपछि नेपाल पत्रकार महासब्घ बाँके शाखाको टिम नै अस्पताल पुगेको थियो । आफन्त र नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर, खजुरा गाउँपालिकाका अध्यक्ष, अरु चिनेजानेकाहरूले एकदमै हार्दिकताका साथ स्वागत गर्नुभयो । घर आउँदा पनि छरछिमेकी सबै खुशी र बाटोमा स्वागतका लागि बस्नुभएको थियो । कसैले एकदमै सामाजिक दूरी पनि नराखी अँगाल्नुभयो । एकाध भने बाहिर निस्कनुभएन । अरु भेट्न आउने मान्छेलाई पनि त्यहाँ नजाऊ, कोरोना पोजिटिभ छ भन्नेसम्मको व्यवहार गर्नुभयो । एकदमै बुझक्कड, प्रबुद्ध, राजनीतिक दलकै नेता पनि त्यस्ता देखिए । मैले सुनेको जसको कोरोना पोजिटिभ छ तर लक्षण देखिएको छैन भने त्यो इम्युनिटी पावरका कारण हो र त्यसबाट कोरोना सर्दैन । तर त्यसो भनिएपनि मास्क लगाउने, नियमित सरसफाइ गर्ने, अरुसँग दूरी कायम गर्ने गरिराखेकै छु । महामारीका बेला राज्यले खेलेको भूमिका स्वास्थ्य, सुरक्षा, सञ्चार र स्थानीय प्रतिनिधि यी चारवटा पाटोको मनोवल सबभन्दा उच्च बनाउनुपर्ने आवश्यकता हो तर यिनको मनोबल गिरेको छ । राज्यले यिनीहरूलाई प्रोत्साहन गर्न सकेको छैन । फ्रन्टलाइनमा काम गरेकाहरूलाई मास्कसमेत दिन सकेन सरकारले । यसका लागि पेसागत सब्घसंगठनहरूले पनि के गरे त ? राज्यलाई दबाब दिने काम भयो कि भएन ? यहाँनेर हामी चुकिराखेका छौँ । अहिले त सहज भएको छ । यही कोरोनाकै बिषयमा रिपोर्टिङ गर्न पनि गाह्रो छ । कसरी निस्कने ? सुरक्षा केही पनि छैन । कसैले सहयोग गर्दैनन् । सुरक्षाकर्मीको त्यस्तै छ । रुमाल बेरेर काम गरिरहेका छन् । जनप्रतिनिधिको कुरा गर्ने हो भने अलि पावरफुल रहेछन् भने त सुविधा पाउछन् अरुले त्यो पनि पाउँदैनन् । त्यत्तिकै खटिएका छन् । कोही बुझेर, कोही नबुझेर पनि । मानौँ कि जनप्रतिनिधिलाई कोरोना सर्दैन भनेजसरी हिँडेका छन् । स्वास्थ्यकर्मीहरूलाई तलव दिएर मात्र भएन । तलवको भरमा कुनै कर्मचारीले आफ्नो जीवनलाई नै जोखिममा पारेर काम गर्न सक्दैन । उसको हिम्मत नै कमजोर भइसकेको हुन्छ । राज्यले उसको मनोवल उच्च बनाउन आवश्यक सुविधा दिएर काममा लगाउनुपर्ने हुन्छ । न्युनतम मास्क, पिपिइ पनि नभई स्वास्थ्यकर्मीले कसरी काम गर्छन् ? उनीहरूलाई यस्तो महामारीको बेला पूर्वाधार र सेवा सुविधा दिइनुपर्छ ।
(नोटः प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको कोरोना कहरमा काउन्सिल बुलेटिनका लागि लक्ष्मी पौडेल र महेन्द्र सिंहले गरेको कुराकानीको सम्पादित अंश हामीले सोही पुस्तकबाट साभार गरेका हौँ ।)