-भरत सिग्देल
ऊ आउँछ, आइरहन्छ
बारम्बार आउँछ
झसङ्ग झस्काउन आउँछ
कहिले मध्याह्नमा आउँछ
कहिले मध्यरातमा धाउँछ
चिच्याउँछ,बर्बराउँछ
सपनामा आउँछ
नीद खल्बल्याउँछ
बिपनामा आउँछ
शिर झक्झक्याउँछ
झिसमिसेमै आउँछ
भालेको डाँकसङ्गै बास्छ
गोधुली साँझमा आउँछ
सन्ध्याको दीपसङ्गै हाँस्छ
घरिघरि आउँछ , आइरहन्छ
काउकुती लाउँछ
विशेषगरी झरी, बादलमा आउँछ
बाजा बजाउँछ , बिरह गुञ्जाउँछ
केही भन्न खोजे झैँ गर्छ
मुख आँऽऽऽऽ गरेर बाउँछ
टक्क अडिन्छ
दुवै ओठ जोड्छ , खोल्छ
फेरि जोड्छ,फेरि खोल्छ
मुख प्याक्….. प्याक्….. गर्छ
पानी हाल्दिन्छु , पिप ओकल्छ
दुर्गन्धित तुल्याउँछ वरपर
झार्छ आँसु बरबर
चर्काउँछ छाती चरचर
काम्दछ बबुरो थरथर
धेरै पटक मागेँ उसको परिचय
बोलेन ऊ , पटक्कै बोलेन
ढुङ्गो बोल्ला, ऊ बोलेन
अहँ ! बोल्दै बोलेन
एक रात जब ऊ फेरि आयो
मैले सोधेँ – भन, तिमी को हौ ?
भुइँमा झार्यो तपक्क दुई थोपा आँसु
रातो रगत मिसिएको आँसु
र लेख्यो माटोमा चुपचाप आफ्नो नाम :`युद्धको घाउ´









































