-नेत्र विक्रम चन्द ‘विप्लव’
प्रचण्ड–आलोक समकक्षी या सहपाठी होइनन् तर एक अर्कोका हितैषी भने पक्कै हुन् । प्रचण्ड पहिलो लहरका नेता थिए भने आलोकले आफुलाई त्यसपछिको नेता बनाउन चाहन्थे । सायद प्रचण्डको स्वभावअनुसार त्यो आश्वासन वा ढाडस दिएका थिए भन्न सकिन्छ । आलोक पनि केही क्षमता नभएका होएनन्, सामान्य परिवार र मजदुरवर्गबाट आएका, औपचारिक अध्ययन कम भए पनि विषय प्रस्तुत गर्न सक्ने र चलाख खालका मान्छे थिए । खटनपटन पनि चुस्त प्रकारले गर्न सक्थे । त्यसै भएर पनि होला, प्रचण्डले निर्मल लामाहरुसँगको दुई लाईन संघर्षमा आलोकलाई बेशी प्रयोग गरे । उनको पार्टी हैसियत पनि अन्य नेताहरुको तुलनामा छिटो उँभो लाग्यो । जनयुद्धको तयारी र पहलपछि सिपिलाई दपेट्दा पनि आलोक नै प्रयोग भए । आलोकलाई अवसर पनि दिए र पाए । जनयुद्धको तयारीमा आलोकको राम्रै तत्परता र सहयोग रह्यो प्रचण्डलाई । जनयुद्ध सुरु भएपछि उनकै नेतृत्वमा पहिलो सफल चौकी रेड पनि रामेछापको बेथानमा सफल भयो । त्यस कारबाहीले उनलाई अरु माथी उठायो, जनयुद्ध दोस्रो योजनामा उनको प्रशंसा पनि भयो, उनी क्रमशः पूर्वका नेता भए । त्यहाँसम्म प्रचण्ड र आलोकको विषय मिल्यो ।
अन्य कमाण्ड वरिष्ठ नेताले हेर्दथे तर पूर्व आलोकले हेर्दथे । त्यसले उनीमा दम्भ र महत्वकांक्षा बढ्यो । आलोकमा नेतृत्व महत्वाकांक्षी बढी देखिन थालेपछि भने प्रचण्ड उनीबाट झस्किन पुगे । आलोकले के के ग¥यो भन्ने पर्न थाल्यो । यता बाबुरामले आलोक भनेपछि फुटेको आँखाले पनि हेर्न चाहँदैनथे, उनका बारेमा उपत्यका र पुर्वबाट अनेक सूचना प्रचण्डकहाँ पुग्न थाल्यो । आलोक सुरा–सुन्दरीमा फस्यो र पार्टीमा गुट जन्मायो भन्ने खबर पार्टीमा चल्यो । प्रचण्डले नै पहिलो पटक यो चलाए । त्यही क्रममा बेथानको विरता दिवस मनाउने पोष्टरमा आलोकले प्रचण्डसँगै आफ्नो कोटेशन राख्न लगाए । उनको कोटेसन थियो, “बलिदान क्रान्तिको उर्जा हो ।” केही नेताहरुले यसलाई आलोकलाई किनारा लगाउने ठुलो मुद्धा बनाए, जसले आलोकको चुरीफुरी मन पराएका थिएनन्, उनीहरुले त चर्को नै उठाए । उनले एकजना महिला कार्यकर्तासँग यौनसम्बन्ध बनाएको पनि उजुरी आयो । उता बाबुरामसँगको संघर्षमा आलोक चर्को रुपले उत्रिएका थिए, उनले बाबुरामलाई ट्राटस्की र देङसँग दाजेर हानेका थिए । यद्यपी यसमा प्रचण्डको नै इसारा थियो । पछि आलोकको मुद्धा उठेपछि बाबुराम पनि सिस्नेकिराजस्तो उफ्रिए । उनले यति भने, “यो मान्छे कम्युनिष्ट नै होइन, यसले पार्टी डुबाउँछ ।” त्यही समय २०५६ मा पार्टीमा सबै नेताहरुले आफ्नो समस्या आफैँले लेख्ने र पार्टीमा विवरण राख्ने भन्ने निर्णय गरियो । सम्भवतः आलोकलाई सिधा भन्न गाह्रो परेपछि प्रचण्डले लगाएको बुद्धी पनि हुनसक्छ । सबैले लेखेको आत्मालोचना मिल्यो तर आलोकले लेखेको आत्मालोचनामा आत्मालोचनाको भाव कम थियो ।
उनले त आत्मप्रशंशाजस्तो पो लेखेर ल्याएछन् । कमजोरी लेख्न उनलाई मनै लागेन या हम्मे प¥यो । दुई पटक लेख्न लगाउदा पनि त्यस्तै भएपछि त्यो त्यसै राखियो । त्यही समयमा हो बाबुराम आलोकविरुद्ध बतुराएको । पछि प्रचण्ड पूर्व गएर बुझेपछि के भेटे भने, आलोकले पूर्वी ब्युरोलाई नै नियन्त्रणमा लिएको रहेछ । केही नेता छोडेर आलोकको पक्षमा छन् । प्रचण्डलाई समर्थन गर्नेमा यो नै आलोकको क्षमता थियो । प्रचण्डसँग परेपछि यो उनको अपराध बन्न पुग्यो । खासमा जब आलोकलाई पूवबाट केन्द्रीय कार्यालय हुँदै पश्चिम सार्ने कुरा भयो । सायद आलोकको इशारामा पूर्वी ब्युरोले यसको विरोध ग¥यो । यती पाएपछि प्रचण्ड झन् झस्किए आलोकसँग । अनि त आलोकलाई कारबाहीमा राखेर उनीविरुद्ध संश्लेषण गरियो । आलोक प्रवृत्ति । आलोक प्रवृत्तिका विशेषता भनेर केही बुँदाहरु बने । त्यसमा मुख्य थिएः
१. चर्को क्रियाशिलता र क्रान्तिकारी लाइनको उग्रपक्षधर, नेतृत्वको चाकरी गर्ने
२. अभिव्यक्तिमा अतिरञ्जना, स साना कुरामा झुट बोल्ने
३ आर्थिक अराजकता र यौन कमजोरीलाई त्यागको रुपमा प्रस्तुत गर्ने
४. माथी चाकरी तल नोकरशाही ब्यवहार
५. गुटबन्दी गर्ने
६. दैतचरित्र प्रर्दशन गर्ने
७. निम्न पुँजीवादी, गैरकम्युनिष्ट आदि ।
यी आरोप पनि उनको मुखमा नलगाएर बडो षडयन्त्रपूर्ण तरिकाले पहिले उनलाई फकाएर पश्चिममा सरुवा गरिएपछि मात्र भनियो । पछि आरोप थुपार्दै कारबाही गरियो र राप्तीमा पठाइयो । पछि त एकप्रकारले बन्दी बनाइयो । आलोकले प्रचण्डलाई जसरी सहयोग गरेका थिए । सायद प्रचण्डबाट यसखालको हमला र धोका होला भन्ने उनले सोचेका थिएनन् । उनी यस्तो कारबाहीबाट विक्षिप्त नै बने । बेला बखत भाग्न पनि खोजे तर के गर्ने ? उनलाई कुनै अड्कल नै भएन । उनी एकप्रकारले असहायजस्ता हुन पुगे । तैपनि राप्तीको शितल स्वभाव र कसैलाई पनि अपमान नगर्ने संस्कारबाट उनी धानिए । अफ्शोच उनी सरकारी सैन्य अपरेसनका बेला रोल्पामा सेनाको गोलीद्धारा मारिए । यदि उनी भाग्न चाहेको भए, भाग्न पनि सक्थे । उनको सुरक्षामा रहेका कमरेडहरुले जोगाउन पनि निकै कोशिस गरेका थिए । तर उनले आलटाल गरेर जोगिन मानेनन् । उनले सेनासँग के गर्न खोजेका थिए, भन्न सकिँदैन । तर सेनाको गोलीबाट मारिए । उनकै कारणले एकजना मलेशियाको युवा पनि शहीद भए । जनयुद्धमा रहँदासम्म आलोकलाई शहीद पनि मान्ने कुरा भएन । आलोक सेनासँग आत्मसमर्पण गरेर पार्टीभित्र जान खोजेको थियो भन्ने तर्क पनि भए ।
प्रचण्डप्रतीको प्रतिशोध मानसिकताले त्यहाँ पुर्याउँदैन भन्न पनि सकिँदैन । उनले यस्तो एक्लोपन र अपमानभन्दा बरु गोली खाएर मरौं जे होला भन्ने सोचेको पनि हुनसक्छन् । जे होस् उनी सेनाबाट मारिए । पार्टी शान्तिप्रकृयामा संघर्ष चलिरहेको सन्दर्भमा खरिपाटी भेलापछिको सिन्धुपाल्चोक सुकुटेको स्थायी समिति बैठकले उनलाई शहीद मान्ने निर्णग गर्यो । कैयौं कमजोरीका बाबजुत कम्तिमा उनी शहीदसम्म बन्न पाए । कम्युनिष्टको दृष्टिकोणमा स्वर्ग र नर्क त हुँदैन । तरपनि यदि हुन्थ्यो भने उनको आत्मा भड्कीएको भए केही राहत अवस्य पाउथ्यो । कि प्रचण्ड दलाल पुँजीवादी व्यवस्थाको रक्षक माओवादीलाई आंतकवादी भन्ने सत्ताको संरक्षक, शहीदहरुलाई गोलीले उडाउने राजनीतिकको सञ्चालकमा पतन हुन पुगेका छन् भने आलोकले कमजोरीकै कारणले हो भनेपनि कम्तिमा जनताको शहीद बन्ने सौभाग्य पाएका छन् । यो पनि मान्न कर लाग्छ कि प्रचण्ड बाबुरामले आलोकलाई जे जस्ता आरोप लगाएर आलोकको मृत्युले त्यसलाई जाँच्ने मौका मिलेन । तर आलोकलाई ती आरोप लगाउनेहरु नै वास्तवमा इमान्दार र क्रान्तिकारी कम्युनिष्ट थिएनन् । उनीहरुले आलोकलाई कम्युनिष्ट कोणबाट नभइ बुर्जुवा संसदवादी उपभोगवादी अवसरवादी कोणबाट लगाएका रहेछन् भन्ने भने यिनीहरुको विचलन र पतनबाट स्पष्ट हुन्छ । माओले एक ठाउँमा भन्नुभएको छ, ‘कुनै एक समयमा क्रान्तिकारी भएर पुग्दैन । आजीवन क्रान्तिकारी बन्नु वास्तविक क्रान्तिकारीको परिचायक हो’ प्रचण्डको हकमा यी भनाई चरितार्थ भएको छ ।
विप्लवद्वारा लिखित ‘महापतन’ पुस्तकबाट