ललितपुर ।
बागमती प्रदेश सरकारले सामुदायिक बिद्यालयमा कक्षा ९, १० र ११ मा अध्ययनरत विद्यार्थी र ती विद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभुत ज्ञान र सीप सिकाउन थालेको छ । सञ्चार रजिष्ट्रारको कार्यालयले सोमबारदेखि ललितपुरको जावालाखेलस्थित आफ्नै कार्यालयमा पाँच वटा सामुदायिक विद्यालयका २० जना विद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराई पाँच दिने चलचित्र साक्षरता कार्यशाला शुरु गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रबद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बनधी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलो पटक र दोस्रो पटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौँका चार वटा सामुदायिक विद्यालय र भक्तपुरको एक सामुदायिक विद्यालयमा अध्ययरत २० जना बिद्यार्थी र पाँच जना शिक्षक सहभागी छन् ।
सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार शिक्षक र विद्यार्थीलाई चलचित्र निर्माणको पूर्व तयारी, चलचित्र निर्माणको चरण र चलचित्र निर्माणपछिको चरणका आधारभुत शिक्षा सिक्नेछन् । यो कार्यशालामा फरक फरक विधाका फरक फरक नौ जना प्रशिक्षकले चलचित्रमा उपयोग हुने पात्रको भूमिका,अभिनय, छायाँकन, सम्पादन, बजारीकरण र वितरणको आधारभुत ज्ञान र सीप सिकाइने सञ्चार रजिष्ट्रार सापकोटाले बताउनुभयो । कार्यशालामा फरक फरक पृष्ठभूमि, रुची र क्षमता भएका विद्यार्थी सहभागी छन् । बिद्यालयमा जाडो बिदाको वेला पारेर विद्यार्थी र शिक्षकलााई अतिरिक्त सीप र ज्ञान सिकाउन लागिएको हो ।
सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार आगामी शुक्रबार अपरान्ह बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन हुनेछ ।