काठमाडौँ ।
राजतन्त्रको पक्षमा शुक्रबार भइरहेको प्रदर्शन थप उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ ।
राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । राजावादीहरुले आन्दोलनका क्रममा तीनकुने स्थित तीन वटा सर्वसाधारणका घरमा ढुङ्गामुढा गरेका थिए भने अहिले बालकुमारीमा पुगेर गाडी जलाएका छन् । प्रदर्शनकारीले तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपुर्णपोष्ट दैनिकको कार्यालयमा समेत क्षति पुर्याएका छन् । उनीहरुले अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास गरेका थिए ।
राजावादीहरु कोटेश्वर पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरेका छन् । उनीहरुले त्यहाँ बाइक तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । तीनकुनेमा एपीएफको गाडीमा ढुङ्गामुढा गरेका प्रदर्शनकारी सुरक्षाकर्मीको बन्दुक खोसेका थिए । प्रदर्शनका क्रममा दिउँदै प्रहरी र प्रदर्शनकारीबिच झडपको स्थिति सिर्जना भएपछि स्थिति तनावग्रस्त बनिरहेको हो । नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा पनि आगजनी भएको छ ।
यता भृकुटीमण्डपमा चलिरहेको समाजवादी मोर्चाको जनसभा भने शान्तिपूर्ण रुपमा जारी छ ।