राज्यबाट सुबिधा लिएर अहिले कोरोना संक्रमणको त्रासमा सेवा बन्द गरेका नीजि अस्पतालले गत बर्षमात्र ८१ करोड ३८ लाख भन्सार छुट लिएको पाईएको छ । अहिले अधिकांस नीजि अस्पतालले सेवा बन्द गरेका छन् । आंशिक खुलेकाले रुघाखोकी र ज्वरो आएकालाई मात्र होइन, पखाला लागेका र ढाड दुःखेका बिरामीलाई पनि भर्ना गर्न छाडेका छन् ।
आज प्रकाशित नयाँ पत्रिकाले नेपालका नीजि अस्पतालले लिएको करछुटबारे बिशेष खबर छापेको छ । स्वास्थ्य मन्त्रालयले सिफारिस गरेर गत आर्थिक वर्ष ०७५/७६ मा एक अर्ब ८१ करोड छुट दिएको थियो ।
मन्त्रालयका अनुसार मेडिकल उपकरण, एम्बुलेन्स, बस, माइक्रोबसलगायतका सामग्री आयातमा अस्पतालहरूले कुल लागतको साढे १५ प्रतिशतसम्म भन्सार छुट पाउने गरेका छन् । गत वर्ष र चालू आर्थिक वर्षमा झापाको बी एन्ड सी अस्पतालले १२ करोड ४० लाख भन्सार छुट पाएको थियो । ८० करोडको सामग्री खरिद गरेको विवरण पेस गरेर बिएन्डसी अस्पताललाई १२ करोड ४० लाख छुट दिन गत २६ साउनमा स्वास्थ्य मन्त्रायले निर्णय गरेको थियो ।
७५ करोडको सामान खरिद गरेको नेपाल मेडिसिटी अस्पतालले ११ करोड ६२ लाख छुट पाएको थियो । त्यस्तै, नेसनल मेडिकल कलेज, नोवेल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, ग्रिनसिटी हस्पिटल, ह्याम्स हस्पिटल, मेडिकेयर, अन्नपूर्ण न्युरो, ब्लु क्रस हस्पिटल र हेल्पिङ ह्यान्डस्ले समेत भन्सार छुट लिएका छन् (विवरण बक्समा हेर्नोस्) । त्यस्तै, ग्रान्डी इन्टरनेसनल, नर्भिक र वयोधाजस्ता काठमाडौँका ठूला अस्पतालले पनि वर्षेनी भन्सार छुट लिँदै आएका छन् ।
कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रण तथा उपचारका लागि सर्वसाधारणलाई परामर्श दिन स्वास्थ्य मन्त्रालयले राखेका तीनवटा हटलाइनमा दैनिक कम्तीमा दुई सय सर्वसाधारणले फोन गर्छन् । ती अधिकांशले अस्पतालले बिरामी हेर्न नमानेको गुनासो गर्ने गरेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटाले बताए । किस्ट मेडिकल कलेज, ब्लुक्रस अस्पताल, कान्तिपुर अस्पताल, बयोधा अस्पताल, मेडिकेयर अस्पताललगायत देशभरका निजी अस्पतालहरूले ज्वरोका बिरामी हेरेका छैनन् । सरकारी स्वामित्वका त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले समेत ज्वरोका बिरामीलाई फर्काउने गरेका छन् ।
अस्पतालजन्य उपकरणमा मात्रै होइन, अस्पतालहरूले कर्मचारी बोक्ने बस र माइक्रोबस खरिदमा समेत भन्सार छुट लिने गरेका छन् । स्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडाका अनुसार ५० बेडसम्मको अस्पताललाई एक एम्बुलेन्स र एक सयभन्दा बढी बेड भएका अस्पताललाई दुईवटा एम्बुलेन्समा भन्सार छुट दिने गरिएको छ ।
गगन थापा स्वास्थ्यमन्त्री भएको वेला नेपाल मेडिसिटी अस्पतालले ७५ करोड भन्सार छुटको सुविधा लिएको थियो । अस्पतालजन्य उपकरण खरिदमा देशभरका अधिकांश निजी अस्पतालले भन्सार छुट लिएका छन् । उनीहरूकै दबाबमा आर्थिक ऐनमा भन्सार छुटको कुरा समेटिएको मन्त्रालयका एक अधिकारीले बताए ।
निजी अस्पतालहरूले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)को अभाव देखाउँदै बिरामी फिर्ता पठाउने क्रम बढेपछि नेपाल मेडिकल काउन्सिलले अनुगमन थाल्ने भएको खबर नयाँ पत्रिकामा छ ।