काठमाडौं ।
सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अनिल शर्मा विरही हिरासतमुक्त भएका छन् ।
चितवन जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य विरहीलाई हिरासतमुक्त गर्न आदेश दिएको हो । हिरासतमुक्त गरी चिकित्सकको परामर्शविना पुनः पक्राउ गर्ने कार्य नगर्न अदालतले आदेश दिएको छ ।
चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले दिएको आदेशमा शर्मा गम्भीर बिरामी परी उपचार गराइरहेको तर प्रहरीले उनीविरुद्ध अर्को जिल्लामा समेत मुद्दा दायर गरेको देखिएको भन्दै चिकित्सकको परामर्शबिना अस्पतालबाट अन्यत्र नलैजान र धरपकड नगर्नसमेत भनिएको छ ।
गत २३ वैशाखमा पक्राउ परेका विप्लव नेकपाका नेता शर्मालाई रिहा गर्न आदेश दिँदै उनी विध्वंसात्मक कार्यमा संलग्न नभएको भन्दै दुःख नदिनसमेत भनिएको छ ।
बिरामी परी उपचारका लागि अस्पतालमा रहेका बेला पक्राउ परेका शर्मालाई प्रहरीले राज्यविरुद्धको अपराध गरेको भन्दै हिरासतमा लिएर मुद्दा चलाएको थियो । तर, जिल्ला अदालतले शर्माबाट राज्यविरुद्धको अपराध हुने कुनै सामग्री नभेटिएको भन्दै राजनीतिक आस्थाका आधारमा भेदभाव नगर्नसमेत भनेको छ ।
शर्माको बिरुद्ध जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए भने शर्माको पक्षमा बरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरु कपिल चन्द्र पोख्रेल, कमल पाठक, गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, रामचन्द्र देवकोटा, गंगा बहादुर कोईराला, नारायण गिरी, लक्ष्मण अधिकारी र सन्तोष कोईरालाले बहस गरेका थिए । शर्मालाई अदालतले श्रावण २१ गतेको तारिख समेत दिएको छ । अदालतको आदेशसँगै हाल उनी भरतपुर अस्पतालमै उपचारमा फर्किएका छन् ।
थुनामुक्त भएलगत्तै एक प्रेस बिज्ञप्ती जारी गर्दै विरहीले धन्यवाद ज्ञापन गरेका छन् । आफ्नो रिहाईको लागी अहोरात्र खट्ने अधिवक्ता, पत्रकार, डा. बाबुराम भट्टराई लगाएतका बिभिन्न राजनितीक दलका नेता कार्यकर्ता, प्रगतीशिल लेखक,मानवअधिकारवादी, सास्कृतीककर्मी, उद्गोगी, ब्यवसायी, अस्पताल परिवार, सुरक्षाकर्मी र शुभचिन्तकहरुलाई धन्यवाद दिएका हुन् । विरहीले आफुलाई सहयोग गर्ने र सहानुभूति राख्नेलाई गिरफ्तार गरिएकोमा खेद प्रकट गरेका छन् ।
आदेशः
विरहीको प्रेस विज्ञप्तीः