प्रकाश गुरागाइँ
सयनकक्षमा सुतेका प्रधानमन्त्रीले
ख्वाक्क खोकेपछि
पूरै बालुवाटार दौडियो
र जम्मा भयो विछ्यौना वरिपरि ।
प्रधानमन्त्रीलाई धूलोको एलर्जी छ
कसले पठायो माटोको गन्ध ?
एउटाले छानबिन समितिको प्रस्ताव राख्यो ।
प्रधानमन्त्री उत्तानो फर्किए ।
प्रधानमन्त्रीलाई चिसोको एलर्जी छ ।
हिमालै बोकेर को पस्यो बालुवाटार ?
अर्कोले सीधै कारबाही हुनुपर्ने राय पेस्यो ।
प्रधानमन्त्रीले वरिपरि आँखा घुमाए ।
प्रधानमन्त्रीलाई रातोको एलर्जी छ
शहरमा जात्रा छ । अबीरले रङ्गिएको छ सडक ।
कसैले रातोलाई नै प्रतिबन्ध लगाउनुपर्ने बतायो ।
प्रधानमन्त्रीले आँखा चिम्लिए । आफ्नै विगत विस्मृतिमा गयो ।
चाप्लुसीको हावा चलिरह्यो शयनकक्षमा
बिसेक भएन उनको खोकी ।
प्रधानमन्त्री आराममा छन् ।
देश
पुलिसले हानेको पानीको फोहोरासँगै घस्रिरहेको छ ।
यो बेला
बालुवाटार गेटैमा आइपुगेको एउटा नागरिक
खुनी पानीमा निथ्रुक्क भिजेपछि
ख्वाक्क खोकेर खुत्रुक्क मर्यो ।
पाष्टमार्टम रिपोर्टले भन्छ–
उसलाई शासकहरुको चिसो इतिहाससँग एलर्जी थियो ।