एमसीसी खारेज अभियानले राष्ट्रघाती अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजनाका विरुद्धमा उत्रन अपिल गरेको छ । अभियानले प्रेस वक्तव्य जारी गर्दै सोमबार र मंगलबार आयोजना हुने विरोधका कार्यक्रममा सहभागी हुन अपिल गरेको हो ।
हेर्नुस् प्रेस वक्तव्य
MCC खारेज अभियान, नेपालको प्रेस-वक्तव्य !
अमेरिकी साम्राज्यवाद लगायतका वैदेशिक शक्तिकेन्द्रहरुको रुचि र दवावमा नेपालसँग गरिएको महाराष्ट्रघाती सम्झौता हो MCC सम्झौता । अहिले पनि उनीहरुकै चर्को दबाबमा यो सम्झौतालाई यही मंसिर २८ गते नेपालको संसदमा पेस र पास गर्ने चरम र अन्तिम दुस्प्रयास तिनै शक्तिकेन्द्रका दलाल नेपाली शासकहरुले गरिरहेका छन् ।
त्यसैले नेपाली जनताले पनि व्यक्तिगत वा संस्थागत रुपमा आफ्ना विभिन्न राजनीतिक, सामाजिक, सांस्कृतिक र पेसागत शक्ति, संघसंस्था, संगठन र अभियान-प्रतिष्ठानहरुद्वारा आफ्नो असहमति, आलोचना, विरोध, भण्डाफोर र खबर्दारी पनि एकल वा संयुक्त रुपमा सशक्त प्रकारले नै गरिरहेका छौं ।
यसैसन्दर्भमा गत २४ गते हाम्रो अभियान लगायतका २६ दल-संस्थाहरुको संयुक्त आयोजनामा राजधानी काठमाडौं उपत्यकामा माइतीघर मण्डलादेखि विरोध प्रदर्शनको प्रकृया शानदार रुपमा सम्पन्न गर्ने क्रम सुरु भएको छ ! हिजो मात्रै पनि ज्ञानेन्द्र शाही, हेमराज थापा लगायतका जुझारु युवाहरुको ठूलो संख्याले यहीँ नै MCC विरुद्ध आफ्नो विरोध जारी रहेको अवगत गरायो भने आज देसका बौद्धिक, साहित्यिक र सांस्कृतिक प्रतिभाहरुको सशक्त संगठन प्रगतिशील लेखक संघ (प्रलेस) को आयोजनामा देसका प्रतिष्ठित व्यक्तित्वहरुले यही स्थानमै MCC सम्झौता सदनमा पेस र पास नगर्न सशक्त खबर्दारी गर्दैछन् । यसप्रकारका विभिन्न विरोध प्रदर्शनहरु देसका विभिन्न भागमा भैरहेका छन् र हाललाई मंसिर २८ गतेको प्रक्रिया र परिणामसम्म पनि भैनै रहनेछन् ।
यसैक्रममा हालै नेपालका ८ वाम राजनीतिक दलहरुद्वारा काठमाडौंमा मंसिर २७ गते MCA को कार्यालय रहेको स्थान होटेल याक एन्ड यतिको प्राङ्गणमा एक सशक्त धर्ना कार्यक्रम राखिएको छ भने मंसिर २८ गते मंगलबारका दिन नयाँ बानेश्वरस्थित संसदभवन घेराउ गर्ने सशक्त र जुझारु एक निर्णायक आन्दोलनको कार्यक्रम राखिएको छ ।
महाराष्ट्रघाती MCC सम्झौताविरुद्ध जोसुकैबाट र जहिलेसुकै पनि भएका र हुने यसप्रकारका सम्पूर्ण कार्यक्रमहरुप्रति हाम्रो सदासर्वदा यथोचित समर्थन, सहयोग र सहभागिता रहेको र रहने कुरा स्पष्ट नै छ । नेपाल र नेपालीको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, शान्ती र समृद्धी एवं राष्ट्रिय अखण्डता, अस्मिता र अस्तित्वसँग गाँसिएको यस्तो गम्भीर र संगीन मुद्दामा हामी सम्पूर्ण देसभक्त र राष्ट्रवादी शक्ति, व्यक्ति, संघ-संस्था र संगठनहरु एक हुनैपर्छ र सबैकासबै एकताबद्ध भएर नै यस्ता राष्ट्रघाती सन्धी-सम्झौतालगायतका अराष्टृय हरकतहरुका विरुद्ध संघर्ष गरी विजय हासिल गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ ।
त्यसैले हाम्रो “MCC खारेज अभियान, नेपाल – २०७६” ले लामो समयदेखि एकल वा संयुक्त रुपमा MCC खारेजीको लागि विभिन्न संघर्षका कार्यक्रम र गतिविधिहरु गर्दै आएको छ ! यसलाई संयुक्त र सशक्त स्वरुप दिने क्रममा गरिएको २६ दल-संस्थाहरुसम्म सम्मिलित कार्यगत एकतामा भएको हाम्रो सहभागीता एवं वामपन्थी, राष्ट्रवादी र लोकतान्त्रिक आदि सबै शक्तिहरुसंगको सहकार्यस्वरुप हाम्रै नेतृत्वमा बनाइएको “MCC खारेज अभियान, संयुक्त संघर्ष समिती” अनि सर्वपक्षीय सहभागितामा बनाइएको “MCC सम्झौता खारेजी आन्दोलन”मा समेत हामी पनि सहमत र सहभागी भै यसमार्फत भएगरेका कामकार्वाहीहरु पनि सर्वविदितै छन् ।
तसर्थ यतिबेला निर्णायक रुपमा प्रस्तुत हुन लागेको यो MCC सम्झौताविरुद्धमा नेपाली जनताको तर्फबाट हुन गैरहेका आज, भोलि र पर्सिका बृहद् कार्यक्रमहरुलाई प्रभावकारी र परिणाममुखी बनाउनको लागि हाम्रो अभियानको तर्फबाट सक्रियता, साहस र समर्पणका साथ सशक्त समर्थन, सहयोग र सहभागिता रहनेकुरा सम्बन्धित सम्पूर्ण अभियन्ताहरु, समर्थकहरु र शुभेच्छुकहरुलगायत सम्पूर्ण आयोजकहरु समक्ष हार्दिक अवगत गराइन्छ ।
साथै यस निर्णायक चरणको आन्दोलनमा आफ्नो सक्रिय समर्थन, सहयोग र सहभागिताको लागि समेत सम्पूर्ण देसप्रेमी र राष्ट्रवादी शक्ति र समुदायहरुलाई पनि हाम्रो विशेष आग्रह छ ।
यसैगरी देश र जनताको पक्षमा लेखेर वा बोलेर, असत्य पोलेर वा सत्यको पोल खोलेर आफ्नो जिम्मेवारी दृढताका साथ पूरा गरिरहनु भएका सम्पूर्ण पत्रकार मित्रहरुलाई पनि यी कार्यक्रमहरुमा उपस्थित भई-गराई यथासक्य सहयोग पुराई देशप्रतिको आफ्नो कर्तव्य पनि पूरा गरिदिनुहुन समेत हामी विनम्र निवेदन गर्दछौँ ।
धन्यवाद !
नारायण शर्मा
संयोजक
MCC खारेज अभियान,
नेपाल, २०७६