सेयर
– कृष्ण सेन ‘इच्छुक’
बिल्कुल फरक छ
तिम्रो र हाम्रो संसार
जसरी बिहान र साँझमा फरक छ
जसरी दिन र रातमा फरक छ
जसरी उज्यालो र अँध्यारोमा फरक छ
सुखले भरिएको तिम्रो समृद्धिको संसार
र दु:खले भरिएको हाम्रो गरिबीको संसार
धेरै-धेरै फरक छ
तिमी जन्मँदै
फूलको शय्यामा जन्म्यौ
हामी काँडामा
तिम्रो भागमा जन्मँदै
मखमलको डसना पर्यो
हाम्रो भागमा फाटेको थाङ्ना
तिम्रो भागमा सुनको थाली पर्यो
हाम्रो भागमा रित्तो हात खाली
बिल्कुल फरक छ
तिम्रो वैभव र हाम्रो विपन्नताको संसार
धेरै-धेरै फरक छ
कुन त्यस्तो ठाउँ छ
कुन त्यस्तो गाउँ छ
कुन त्यस्तो देश
र, कुन त्यस्तो महादेश
जहाँ तिम्रो र हाम्रो संसार छुट्टिएको छैन
तिम्रो र हाम्रोबिचमा
जहाँ विभेद र विभाजनको रेखा कोरिएको छैन
तिम्रो र हाम्रो वर्ग छुट्टिएको छैन ?
व्यवहार छुट्टिएको छैन ?
जीवन/दर्शन र विचार छुट्टिएको छैन ?
बिल्कुल फरक छ
तिम्रो र हाम्रो वर्गीय संसारमा
धेरै-धेरै फरक छ
हाम्रै भागमा छ
भोक र अकालको प्रकोप
हाम्रै भागमा छ
शोक र अभावको प्रकोप
वर्षा, बाढी, रोग र महामारीको प्रकोप
हाम्रै भागमा छ
तिम्रो संसारमा बिहान सुरु हुँदा
हाम्रो संसारमा साँझ पर्छ
तिम्रो संसारमा दिन सुरु हुँदा
हाम्रो संसारमा रात पर्छ
तिम्रो संसार जति जति उज्यालो हुन्छ
हाम्रो संसारमा त्यति त्यति अँध्यारो बन्छ
तिमी पश्चिम हामी पूर्व
तिमी दक्षिण हामी उत्तर
ठीक विपरीत छौँ हामी
तिम्रो र हाम्रो संसार कसरी एकजुट हुन्छ ?
तिमी सुन / हामी फलाम
तिमी हिरा / हामी पत्थर
तिमी राजा / हामी रंक
तिमी सडक / हामी गल्ली
तिमी महल / हामी छाप्रो
तिम्रो भागमा लुटको स्वर्ग
हाम्रो भागमा श्रमको नर्क
बिल्कुल फरक छ
तिम्रो र हाम्रो संसार
र, हाम्रो विचार पनि धेरै धेरै फरक छ
हामी सबथोक फेर्न चाहन्छौ
हाम्रो दु:ख / हाम्रो दुर्भाग्य / हाम्रो दुर्दिन
तिमी सबथोक जोगाउन चाहन्छौ
तिम्रो सुख / तिम्रो सम्रिद्धी / हाम्रो दुर्दिन
र, त बिल्कुल फरक छ
तिम्रो र हाम्रो सोच
तिम्रो र हाम्रो स्वार्थ
तिम्रो र हाम्रो सिङ्गो संसारमा
धेरै-धेरै फरक छ
आकाश र पातालमा जस्तै
र, असम्भव छ हाम्रो मेल हुन
सिर्फ संघर्ष सिवाय
जो तिमीलाई जत्तिकै हामीलाई पनि सहज स्विकार्य छ
र, एक दिन अपरिहार्य पनि ।
shere this