काठमाडौँ ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले झारा टार्ने समाचार दिएर मात्रै पत्रकारिता नहुने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले काठमाडौँमा गरेको युट्युब व्यवस्थापनका सन्दर्भमा आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले युट्युबमार्फत पत्रकारिता कर्म गर्ने हो भने विवादरहित र जिम्मेवार पत्रकारिता गर्नैपर्ने औँल्याउनुभयो । उहाँले अहिलेको पत्रकारिता झारा टार्ने प्रवृत्तिमा अल्मलिएको भन्दै यस्तो प्रवृत्तिले पत्रकारिताको पेसागत मूल्यमान्यतामाथि प्रश्न उठाउने काम गरेको बताउनुभयो । अहिलेको पत्रकारिता गाली बेइज्जतीकेन्द्रित भएकोमा चिन्तासमेत व्यक्त गर्दै उहाँले स्वस्थ र विवादरहित पत्रकारिता गरियो भने मात्र पेसागत मर्यादा कायम रहने बताउनुभयो ।
युट्युबमार्फत भइरहेको पत्रकारिता राम्रो हुन सके युट्युबकै गरिमा बढ्ने हुँदा पत्रकार आचारसंहिता र मर्यादाको ख्याल गर्न युट्युब सञ्चालकलाई उहाँको अनुरोध थियो । ‘हामीले राम्रो गरेनौँ भने यो क्षेत्र पनि कहिल्यै राम्रो हुँदैन, हाम्रो पेसालाई कसैले राम्रो पनि भन्दैन, कस्तो गर्ने भन्ने हाम्रै हातमा छ, त्यसैले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने यसको मर्यादामा रहनैपर्छ । मर्यादाभन्दा बाहिर गएपछि त्यो पत्रकारिता रहँदैन ।” उहाँले भन्नुभयो । प्रेस काउन्सिल नेपालले युट्युबमार्फत् सञ्चारकर्म गरिरहेका तर पत्रकार आचारसंहिताको पालनामा कमजोर देखिएका युट्युब सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । आइतबार भएको चौथो श्रृङ्खलामा अध्यक्ष बस्नेत, सञ्चार विज्ञ डा. भानुभक्त आचार्य र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सञ्चार विज्ञ डा. आचार्यले पत्रकारिता क्षेत्र विश्वसनीय र परिणाममुखी बनाउन पत्रकारले फिल्टर गरेर समाचार दिनुपर्ने बताउनुभयो । युट्युबका माध्यमबाट हुने गरेको पत्रकारिताले सामाजिक उत्तरदायित्व बहन नगरेको औँल्याउदै उहाँले उहाँले समाचार दिने बेलामा नै पाठकलाई भ्रम छर्ने, गलत दिशानिर्देश गर्ने र समाजमा अपाच्य हुने विषयलाई फिल्टर गरेर दिन सक्नुपर्ने उल्लेख गर्नुभयो । १३० वर्ष पुरानो छापा माध्यमबाट सुरु भएको पित पत्रकारिताको अभ्यास अहिले डिजिटल माध्यमबाट भइरहेको भन्दै उहाँले यस्तो पत्रकारिता विश्वका कुनै पनि मुलुकका लागि उपयुक्त नहुने बताउनुभयो ।