सेयर
-आरएच गौतम
हाल जापान, पूर्व जनमुक्ति सेना नेपाल
हाल जापान, पूर्व जनमुक्ति सेना नेपाल
उमेरले म सानो थिएँ । देशमा चलेको व्याप्त अन्तरविरोध, असमानता, विभेदको निर्मुलन र अन्त्य का लागि ग्रामिण बस्तिहरुबाट विद्रोहको भयङ्कर तयारी भइरहेको थियो । घरगाउँ वरपर नियमित रुपमा रातको समयमा तत्कालीन विद्रोही नेता कार्यकर्ताको बाक्लो उपस्थिति र गतिविधिहरु हुन्थ्यो भने दिउँसोको समयमा तत्कालीन शाही सेना, प्रहरीको निगरानीको केन्द्रबिन्दु थियो हाम्रो घरगाउँ । विद्रोही पक्ष र सरकारी दमनकारी पक्षको एउटै भुगोलमा राती र दिउँसोको यस्ता गतिविधिले अनौँठो संकेत गरिरहेको थियो । यस्ता अनौँठा र त्रासदीपूर्ण गतिविधि भइराखे पनि रातिको समयमा हाम्रो घरगाउँमा तत्कालीन शाहीसेना प्रहरीले छिर्ने आँट गर्दैनथ्यो । किनकि हाम्रो गाउँघरमा त्यतिखेरबाटै एकघर एक लाल छापामारको रुपमा विकसित भैसकेको थियो । ती दिनहरुका अनुभूतिहरु अहिले स्मरण गर्दा दिउँसोभन्दा रात असाध्यै रोमाञ्चक र आन्नद लाग्ने गर्थ्यो किनकि रातमा भएका ती तयारीहरु विद्रोहका सांगेतिक धुनहरु त्यसमा पनि हामीलाई बाल कलाकारको अभिनय गर्न लगाउँदाका रमाइला क्षण, विद्रोहीहरुको बाक्लो उपस्थिति, विद्रोही नेताहरु घरका माथिल्ला तलामा नियमित बैठक छलफलमा व्यस्त, घरको मुनिको तलामा लाठ्ठी, खुकुरी, विष्फोटक पदार्थको तयारी, सामुहिक भोजनशैली यो सबै दृश्यले दिनभन्दा रात रमाइलो लाग्थ्यो।
२०५३ पौष १९ गते राती गाउँ चकमन्न सुनसान थियो । अघिल्ला रातहरुभन्दा त्यो रातले गाउँघरमा छुट्टै सुस्केरा लागेको थियो । त्यहाँ कुनै पनि विद्रोही नेता कार्यकर्ता थिएनन् । थिए त स्थानीय विद्रोही गाउँले । पछि मैले बुबाका कुरा सुन्दा भन्नुहुन्थ्यो, त्यो दिन त्यो रात रामेछापको बेथान चौकीमाथि हाम्रा प्यारा विद्रोहीहरुले प्रहरी चौकी कब्जा गर्दैछन् । त्यो कुरा गाउँले र बुबाले पहिल्यै थाहा पाइसकेको बताउनुहुन्थ्यो । त्यो दिन राती ११ बजेतिर पारी रामेछाप बेथानमा खोलिएको फायरिङ र बिष्फोटक आवाज सुनेपछि आज हाम्रो विद्रोहीतिर क्षति भयो कि भएन होला ? सफल भए कि भएनन् ? यसको कमाण्डर गर्ने नयाँ घरको माइलो (तिर्थ), पुच्छाघर जेठो (यान प्रसाद आलोक) नेता, कान्छो (नविन) हुन् । यिनिहरुले कसरी काम गरे होलान् ? यी र यस्ता कुराले रातभरि मन तरङ्गित भएको बताउनुहुन्थ्यो बुबा। यसै प्रसङ्गमा जोड्दै बुबाले बताउनु भएअनुसार रामेछापको बेथान आक्रमण पूर्व काभ्रेकै चौरीनजिक कात्तिके देउराली इलाका प्रहरी चौकीमाथि आक्रमण गर्ने तयारी र सर्भे अध्ययन भएको थियो । यो इलाका प्रहरी चौकीमा पारी बेथान चौकीभन्दा फोर्स ठुलो संख्या र आक्रमण गर्न भुगोल पनि प्रतिकूल भएकोले यो इलाका प्रहरी चौकी आक्रमण असफलताको खतरा रहन्छ भन्दै थुप्रै छलफल निर्णयपछि रामेछापको बेथानमा आक्रमण गर्ने निर्णयमा पुगेको बताउनुहुन्थ्यो उहाँ ।
पौष १९ को त्यो रातको विष्फोटलाई हाम्रो गाउँघरले रातभर नियालिरहेको थियो । किनभने त्यहाँको सफलता असफला जे भएपनि त्यसको हिस्सेदार हामी पनि हुनेछौँ । किनकि त्यसको सम्पूर्ण तयारी त्यो मोर्चा (आक्रमण)मा ठुलो संख्यामा हाम्रो गाउँघरको सहभागिता छ भन्ने अनुभूति पछिसम्म थुप्रै काकाबाहरुले भन्नुहुन्थ्यो।
२०५३ साल पौष २० गते बिहान पारी बेथानमा भएको घटना गाउँघरमा आइपुग्न कत्ति पनि बेर लागेन । गाउँ पुरै शोकमग्न भयो । माइला काका (तिर्थ)को मृत्यु भएको भनेर कसैले विस्वास गर्ने ठाउँ थिएन । गाउँ एकातिर पुरै शोकमा डुब्यो भने अर्कोतिर शाही सेनाले गाउँलाई घेरा हाल्ने डरसँगै पुरै गाउँ बेथान जाने तयारीमा लाग्यो । फेरि बेथानमा शाही सत्ताले ठुलो संख्यामा शाहीसेना प्रहरी हेलिकप्टरबाट झारिसकेको र हामी त्यहाँसम्म पुग्न असाध्यै कठिन बिचबाटोमैँ हामीमाथि आक्रमण हुने डरका बिचबाट चौरीबाट बेथानतर्फ लागेका चौरीका विद्रोही क्रान्तिकारी हरुमाथि आफ्ना महान सहिद तिर्थलाई भेट्न नपाउँदै दमन सुरु भयो । त्यो दमनको प्रवाह नगरी क्रान्तिकारी चौरेली अघि बढे । तर सयौँको संख्यामा शाही राज्यसत्ताले झारेको शाहीसेना प्रहरीले सम्भवत सबैलाई नियन्त्रणमा लिएर निर्मम यातना नुनचुक लगाएर चिसोछिँडीमा हाली दियो । आफ्नो महान मान्छेको राम्रोसँग अनुहार हेर्नसमेत पाएनन् चौरीबासीले । उल्टै जेल, कष्टडी, शरीर चिरेर नुनचुक लगायो शाहीसत्ताका सेनाप्रहरीले ।
यसरी आजको नेपाल निर्माण गर्न काभ्रे जिल्ला चौरी देउरालीले अग्रमोर्चाबाट विजयको झण्डा उठाउने हिम्मत गर्यो । यसरी २०५३ साल पौष १९ गते माओवादी आन्दोलन र यसको पृष्ठभूमिमा पूर्वको बेथानबाट वीरताको झण्डा फहराउँदै बेथान मोर्चाका कमाण्डर महान सहिद क.तिर्थ गौतम, क.फत्तaहादुर स्मालीमगर, क.दिलमाया वोम्जनले आफूलाई उच्च बलिदानी गर्न तयार हुनुभयो। उहाँहरुकै सपनाको बाटोमा समाहित हुँदै आफूलाई बलिदानी गर्नुहुने तपाईं हजारौँ महान सहिदहरुप्रति हार्दिक श्रद्धा सुमन !!
ऐतिहासिक विरताको संयोग र काभ्रे,चौंरीदेउराली
आज भन्दा २५ वर्षअघि माओवादी जनयुद्धको ऐतिहासिक प्रथम सफल फौजी मोर्चा-ऐतिहासिक बेथान मोर्चा !
पूर्वी कमान्ड ईंन्चार्ज एवं प्रमुख योजनाकार – सहिद यानप्रसाद गौतम (क.आलोक)-काभ्रे, चौंरीदेउराली (सहादत २०५७)
मोर्चा कमान्डर-सहिद तीर्थ बहादुर गौतम, चौंरीदेउराली (सहादत सोही दिन २०५३ पौष १९,)
मोर्चा सहकमाण्डर -क. दिननाथ गौतम(प्रयास), चौंरीदेउराली
योद्धा -क. नबीन गौतम (क.आकाश) (वेपत्ता २०५५), चौंरीदेउराली
योद्धा- क.रमेश गौतम (क. प्रभात), चौंरीदेउराली
योद्धा -क. चुड़ामणी गौतम (क. हिमक), चौंरीदेउराली
महिला कमाण्डर -क. रुकु चौंलागाई(क.रचना), चौंरीदेउराली
महिला योद्धा – क. मीना तामाङ(रञ्जिता), काभ्रे
लगायत ३९ जनाको केही थान पुराना भरुवा बन्दूक र घरेलू हातहतियार सहितको छापामार मोर्चा ।
पहिलो फायर -राती करिब ११:०० बजे
पहिलो सहादत -करिब ११:३०बजे क. दिलमाया योञ्जन
दोश्रो सहादत -करिब १२:०० बजे क.फत्त ब.स्माली
तेश्रो सहादत-करिब १:०० बजे कमाण्डर क. तीर्थ
करिब ३:०० बजेसम्म निरन्तर युद्ध । करिब ३:०० बजे २ जना प्रहरीको वीरगती, १ जना पछि अस्पतालमा करिब ३:०० बजे युद्ध
जित युद्ध
इतिहासमा पहिलोपटक मुख्य ४ वटा थ्री नट थ्री राइफल क़ब्ज़ा गरी एउटा राइफल पश्चिम कमाण्ड (रुकुम, रोल्पा, सल्यान, दाङ लगायत)लाई, एउटा राइफल कमाण्ड(बाग़लुङ, गोरखा, तनहुँ लगायत)लाई, एउटा राइफल सिन्धुली उपहार स्वरुप पठाइ एउटा राइफ़ल काभ्रे राखी फौजी युद्धलाई नयाँ स्वरुपमा विकास गर्न आधार तयार गरिएको। वीरसहिदप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धान्जली ।
सूचनास्रोत- बेथान मोर्चा सहकमाण्डर क. दिननाथ गौतम (प्रयास)
shere this