काठमाडौँ १६ साउन ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक तथा सामाजिक विकास नै चीनको उत्कट चाहना रहेको उल्लेख गर्नुभएको छ । साइनो-नेपाल मिडिया सोसाइटीको सहकार्यमा सिएमजीले आयोजना गरेको ‘चीनको निरन्तर सुधारबाट नयाँ युगमा विश्वव्यापी अवसर’ शीर्षकको कार्यक्रममा सम्बोधन गर्दै राजदूत सोङले चीनको आर्थिक विकास नेपालको समृद्धिमा सहयोगी हुनसक्ने धारणा राख्नुभयो । बिआरआईअन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताउँदै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २० औं केन्द्रीय समितिको तेस्रो राष्ट्रिय बैठकले पारित गरेका कतिपय सुधारका योजनाबाट नेपाल र नेपाली लाभान्वित हुन सक्ने प्रष्ट्याउनुभयो ।
नेपाल र चीन दुवै देश उच्च हिमाली क्षेत्र भएका कारण भोगेका समस्या हटाएर विभिन्न माध्यमका कनेक्टिभिटीमा निरन्तर जोडिन उपयुक्त सञ्जाल अवलम्बन गर्नुपर्नेमा उहाँको जोड छ । त्यसैगरी कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी,ऊर्जा,पर्यटन क्षेत्रको क्षमता विस्तारबाट नेपाललाई समृद्धिको अवसर प्राप्त हुनेमा राजदूत विश्वस्त देखिनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै चाइना मिडिया ग्रुप (सिएमजी) का एसिया-प्रशान्त निर्देशक छाओ यीले चीन नेपाल विकासको उपयुक्त पथको खोजीमा सक्रिय रहेको उल्लेख गर्नुभयो । स्वतन्त्रता, आन्तरिक सुदृढीकरण र समृद्धि हासिल गर्न नेपाल प्रयासरत रहेको दावी गर्दै भन्नुभयो, ‘हिमालयको दुईतर्फ रहेका चीन र नेपालबीच सर्वोच्च शिखर सगरमाथा छ । दुई देशका जनताबीचको सम्बन्ध पनि त्यस्तै उच्च छ ।’
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले दुई मुलुकबीचको सौहार्द्रपूर्ण सम्बन्धमा प्रकाश पार्नुभयो । कार्यक्रममा नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले प्रविधि र ज्ञान आदानप्रदानको क्षेत्रलाई थप फराकिलो पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पारस्परिक सहयोगलाई दिगो बनाउँदै जनस्तरको सम्बन्धलाई सुदृढ पार्ने कार्यमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । हाम्रा सञ्चार संस्थाहरु प्रामाणिक,निष्पक्ष र जवाफदेही पत्रकारितामा समर्पित छन् ।’ कार्यक्रमबाट दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोगी हुने आयोजकले बताएको छ ।