पार्टी नै फेरेर एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका पूर्व माओवादी नेता गृहमन्त्री रामबहादुर थापालाई आज एकैदिन दुई झड्का लागेको छ । एमालेमा लागेर माओवादी आन्दोलन योद्धाहरुको बलिदान त्याग र तपस्यालाई तिलाञ्जली दिएका थापालाई उनको उपनामजस्तै बादल लाग्यो आजको दिन । एकातर्फ सांसद नरहेरै मन्त्री पद खाइरहेका उनीसहितका सात मन्त्री मन्त्री बनेको सातै दिनमा हात धुनुपर्ने अवस्थामा पुगेका छन् । अर्कोतर्फ एमालेको सूर्य चिन्ह लिएर बागमती प्रदेशबाट राष्ट्रिय सभामा सांसदका रुपमा छिर्न खोजेका बादललाई आजको दिन उज्यालो भएन । आज मौसम पनि सिमसिमे पानी र बादलिएको थियो । बागमती प्रदेशको उपनिर्वाचनमा एमालेकै माधव नेपाल पक्षबाट स्वतन्त्र उम्मेद्धार बनेका डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् । उनलाई माओवादी केन्द्रको समेत साथ थियो ।
आज सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेपछि बादललाई झड्का लाग्यो।
पद जाने सबै मन्त्रीहरुमा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नेहरु हुन् । एमाले र माओवादी केन्द्रलाई अलग बनाउने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि पूर्व माओवादीबाट सांसद भएका यी नेताहरु माओवादी केन्द्र नफर्कि एमालेमा प्रवेश गरेका थिए । आदेशसँगै रिक्त रहेका पूर्व माओवादी नेताहरूले सम्हालेका मन्त्रालयमा अब ओलीले माधव नेपाल पक्षका नेताहरुलाई नियुक्त गरेर एमालेभित्र एकता कायम राख्ने आँकलन गरिएको छ । यसरी ओलीले माओवादीलाई स्वार्थ अनुकुल प्रयोग गरेर एक्ल्याएको विश्लेषण हुन थालेको छ । आज भएको राष्ट्रिय सभाको निर्वाचन र नतिजा तथा सर्वोच्चको आदेशलाई अप्रत्याशित मान्नुनपर्ने यो नियोजित भएको चर्चा गर्न थालिएको छ ।
संसद सदस्य नरहेको व्यक्तिलाई दोहोर्याएर मन्त्री बनाउनु संविधान विपरीत हुने भन्दै अधिवक्ता विराज थापा र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
संविधानमा गैरसांसद मन्त्री बनेमा ६ महिनाभित्र संसद सदस्य भइसक्नुपर्ने व्यवस्था छ । तर एक पटक मन्त्री भइसक्दा पनि संसद सदस्य बन्न नसकेकाहरु पुनः नियुक्ति हुनु संविधानको धारा ७८ को १, २ र ३ को व्यवस्था, संविधानको मूल मर्म र भावना विपरीत भएको सर्वोच्चले उल्लेख गरेको छ ।
सातमध्ये गृहमन्त्री रामबहादुर थापा बादल झण्डै तीन बर्षदेखि ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए भने अन्य ६ जना गत फागुन २३ गतेको फैसलापछि एमाले प्रवेश गरी मन्त्री बनेका थिए ।
यता नेकपा एमालेका उम्मेदवार बनेका रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भए । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।
त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।