एजेन्सी ।
च्याम्पियन्स लिग फुटबलमा आज राति जर्मन जाइन्ट बार्यन म्युनिख र स्पेनिस क्लव बार्सिलोना आमने-सामने हुँदैछन् । क्वाटरफाइनलको महत्वपूर्ण भिडन्तमा जित हात पार्ने टिमले सेमिफाइनल यात्रा तय गर्ने छ ।
यो पटक क्वाटरफाइनल यताका खेलहरु एक लिगमै सकिने भएकाले दुवै टिमका लागि अघिल्लो चरण प्रवेश मुख्य लक्ष्य हुनेछ । लगातार आठौं पटक बुन्डेसलिगा उचाल्दै आफ्नो रवाफ कायम राखेको बार्यन जारी सिजन उत्कृष्ट फर्ममा छ । ला लिगामा खराब प्रदर्शन गरेको बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा सुधारिएको प्रदर्शनले केही हौसला मिलेको छ।
कप्तान लियोनेल मेसीको उत्कृष्ट फर्मले बार्सिलोना फेरि एकपटक उपाधिको दाबेदार मानिएको छ । स्पेनिस ला लिगामा कोरोना भाइरस संक्रमणपछि अग्रस्थानमा रहँदै लिग सुरु गरेको बार्सिलोनाले अन्तिममा आफ्नो चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उपाधि सुम्पन बाध्य भयो ।
लिगा भरी बार्सिलोनाका लागि ३३ गोल र २५ असिस्ट गर्दै दुवै विधाको व्यक्तिगत उपाधि जितेका मेस्सीले एकै सिजनमा सर्वाधिक गोल र असिस्ट गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका थिए ।
पछिल्ला आठ खेलमा बार्सिलोना बायर्नसँग पाँच पटक पराजित भएको छ । यद्यपि सन् २०१४-१५ को सिजनमा भएको यी दुईबीचको पछिल्लो च्याम्पियन्स लिग भिडन्तमा बर्सिलोनाले बायर्नलाई पाखा लगाएको थियो ।
दुवै टोलीले ५-५ पटक च्याम्पियन्स लिग जितेका छन्। दुवै छैटौं पटक उपाधिको पर्खाइमा छन् । यो खेल जित्ने नै उपाधि जित्ने टिम हुन सक्ने आँकलन गरिएको छ। पोर्चुगलको लिस्बनमा हुने प्रतिष्पर्धा नेपाली समय अनुसार राति १२ :४५ बजे हुने छ।








































