जानुका धमला
तिम्रो सहादतको सम्मान कसले गर्ने ? कसको नैतिक पुँजी र अधिकार होला र अहिले ? तिम्रो वलिदान के को निम्ति थियो ? तिमी केका विरुद्ध लड्यौ र के प्राप्त भयो ? कसको लागि मात्रै प्राप्त भयो त्यो विलासिता ! तिम्रो विरताको इतिहासलाई न मैले एउटा मुर्दाका कथाको रुपमा परिभाषित गर्ने सकेँ न चिहानघारीमा आउने पर्यटकलाई तिम्रो वास्तविक चिहानको सुन्दरताको वर्णन गर्न सकेँ ।
प्रिय आनन्द ! सत्र वर्ष पुरा भएछ तिमीसँग भौतिक रुपमा विछोडिएको । सत्र वर्षमा मेरो जीवनले भोगेको हन्डर हैरानीमा हिसाब गरेर साध्य नै छैन । कहाँबाट मात्रै सुरु गरुँ र ती दुःखका यादहरु । बस् यो बसाइँमा मेरो जीवनले भोगेको तिरस्कार दुःख, कष्टभन्दा पनि मैले तिम्रो मनको सुन्दर कुनाबाट जितेको संसार लेख्दै छु । अबोध तिम्रो मनको सुन्दर पोखरीमा अँधेरी रातको जुनजस्तो देखिने तिम्रो मनको प्रतिबिम्ब, तिम्रै मनको निश्चल पोखरीबाट देखिने मनको सुन्दर जुनलाई तिम्रै मनको किनारबाट सँगै बसेर हेर्ने सपना त पुरा भएन तर पनि हारिनँ जीवनसँग र त तिमीसँगै हुँदा देखेका सपनाहरुका धुमिल धर्सा अझै जीवित छन् । त्यही सपनाहरु छन् र त म जिवित छु र बाँचेको अनुभूति गर्छु ।
दोरम्बाको घटनापछि पुर्वी कमाण्डको बैठक बसेर फौजी योजना तय भयो । त्यो घटनाको प्रतिरोध गर्न बेथान स्मृति ब्रिगेडको १४औं बटालियनको स्पेसल फोर्सद्धारा सर्लाही जिल्लाको बर्दीवास र १५औं बटालियनको स्पेसल फोर्सले लालबन्दीको प्रहरी चौकी कब्जा गर्ने योजना तय भयो । त्यही योजना सफल बनाउन क्रममा तिमी पहिलो पल्ट एसल्ट ग्रुपको कमाण्ड गरेर जाँदै थियौ । हामी फरक फरक एसल्ट ग्रुपमा थियौँ । जाने स्थान पनि फरक थियो । तिमी तिम्रो एसल्ट लिएर कार्तिके देउरालीबाट मरीन खोला तरेर मोथे तोरीबारी तर्फ लाग्यौ । म त्यहीँबाट पाँचपाण्डप कौवाडाँडा हुँदै सर्लाही जिल्लाको डाप डाँडा अन्तिम सेल्टरमा पुगेँ ।

लेखक
अन्तिम सेल्टरमा पुग्दा ग्यास सिलिण्डर बम बोकेर खुलिएको ढाडको छालामा बनेको कालो दाग अझै पनि जीवित छ मसँग । मलाई खुब रहर थियो त्यो सिलिन्डरले बनाएको घाउको दाग तिमीलाई देखाउन । एम्बुस, फायरिङ्ग, एम्बुसको अनुभव भए मेरो पनि मोर्चाबन्द्धी लडाइँको पहिलो अनुभव थियो । तिमीलाई मेरो सुनाउने कुराहरु सुनाउनै नपाइ, अपसोच तिमी मैले भोग्ने भौतिक, मानसिक पीडालाई कहिल्यै नसुन्ने÷नदेख्ने गरी अस्ताइसकेछौ त्यही रात, अर्थात २०६० भाद्र १८ गते ।
तिमी भएको आर्कतिर ठुलो आवाज आयो बम पड्किएको । आफ्नो जिम्मेवारी त छँदैथियो । त्यो आवाजसँगै तिमीले पनि दुश्मनको बंकर ध्वस्त पारेर हतियार खोस्यौ होला भन्ने उत्सुकता मनमा लाग्यो मनमनै खुशी भएँ । कहिले कमाण्डरको कासन आउला रिट्रिटको भनेर ।
रिट्रिट हुने कासन आयो बाटोमा पट्रोलिङ्गमा गएको शाही सेनासँग जम्काभेट भयो । हाम्रो टोलिसँग दोहोरो फायरिङ्ग चल्यो हामीले केही थान इन्सासको म्यागजीन र गोलीहरु खोस्यौ उनीहरुसँग । हाम्रो तर्फका एक जना स्थानीय कमरेड मनिष घाइते हुनुभएको रहेछ । उहाँलाई भोलिपल्ट बेलुका मात्रै हामीले डाप डाँडामा भेट्यौँ । उहाँको हातको पातामा २ वटा इन्सासको गोली लागेको थियो । गोली पास भएको थिएन रगत बगेर अन्तिम अवस्थामा छटपटाइरहेका थिए हाम्रो सम्पर्कमा आउँदा । मैले गोली निकालेर सिलाएको त्यो घाउ कस्तो भयो होला ? यो संस्मरण लेख्दै गर्दा क.मनिषप्रति उच्च सम्मान छ । मेरो सिलिण्डरको चिनो जस्तै उनको पनि जनयुद्धको घाइतेको चिनो होला शरिरमा अहिलेसम्म पनि ।
गणतन्त्र आएपछि फापेको भनेको चाकडीबाजहरुलाई मात्रै हो । जसले नेताको तलुवा चाट्छ उही तिनीहरुको असल कारिन्दा बने । हिजो जनयुद्धको बेलामा प्राणको बाजी लगाएर लड्नेहरु पाखा लगाइए यसको पनि इतिहासले हिसाब त पक्कै गर्ला ! संकुचित र कुण्ठित केही मान्छे जातीयको नेता बने, धार्मिकको नेता बने, वर्ण र समुदायको नेता बने तर भुइमान्छेको नेता कोही बनेनन् योतन्त्रमा पनि । वर्गीय मुक्तिबिना सबैकुरा अधुरो हुन्छ भनेर कुनै नेताहरुले पनि भनेको सुनिएन ।
निरन्तर एक हप्ता मोर्चाको योजना कार्यान्वयनमा नै बित्यो । थकाइ निकै थियो हाम्रो टोली सकुशल रिट्रिट भयो र निश्चित गन्तव्यमा आइपुग्याँै त्यही कौवा डाँडाँमा । ३ महिना अगाडी दमारको स्याउ बाजेको घरबाट छुटिएका हामी, गोधुली सन्ध्यासम्म पनि तिमी आएनौ, मन बेचैन भयो, तिम्रो ग्रुपको लागी खाना पकाउने जिम्मा पनि मेरो टिमको परेको थियो । खाना तयारी गरेर खाद्यान्न स्टोरतर्फ गएँ, कहीँ तिमीलाई देख्छु कि भनेर तिमीलाई त्यहाँ पनि देखिनँ, स्टोरको काम सकेर तिमीले नै एसल्ट गरेर लिएर गएको साथी विजयको नजिक गएर सोधँ,े तपाइँहरु गएको मोर्चाको बारेमा के भयो कमरेड ? सायद उनलाई हाम्रो सम्बन्धको बारेमा थाहा थिएन मेरो प्रश्न सकिने बित्तिकै भने, “नुवाकोट घर भएका हाम्र्रो एसल्ट कमाण्डर क.सचिन शहिद हुनुभयो” । मैले निकै कोषिस गरेर आफूलाई समालँे । बोल्न, रुन, चिच्याउन, केही गर्न अनुमति थिएन मलाई । सरासर म बसेको घरमा पुगेँ । त्यहाँ पनि रुने वातावरण थिएन । बेलुकाको खाना खाने समय थियो, सबै साथीहरु खानाको तयारीमा थिए । कस्तो विडम्बना ! जो जीवनको सबैभन्दा प्रिय मान्छे छ उसैलाई भौतिक रुपमा गुमाउँदा समेत मन फुकाएर रुन नपाउने उसको यादमा चिच्याउन सकिनँ । मन नभएर नचिच्याएको त कहाँ हो र ! युद्धमा समाहित सिपाहीको पनि मन त कहाँ पथ्थरले बनेको हुन्थ्यो र ? भोलिको रोलकलमा कमाण्डर र सहयात्रीहरुले कस्तो कायर र काथर मुटु भएको रहेछ भन्छन् भन्ने डर लागेर पो धित मरुन्जेलसम्म पनि रुन नपाइ ल्याएको हो त यो गणतन्त्र हामीले ! अर्थात म जस्तै विधुवा चेलीहरुको पुछिएको सिउँदोले १७ हजार विर योद्धाहरुको वलिदानले ।
निलो आकाशमा कालो बादल मडारियो सुन्दर सपना खोसियो । धर्तीमा अभिष्ट हुनै लागेकोजस्तो त्यो समय मेरो लागी टेकेको जमिन भासिँदै थियो । सेल्टर लिएको घरको एक कुनामा बसेर सम्झिरहे ८ महिना अगाडी बैनी उषा थापाको शहादत भएको थियो । ८ महिना पछि प्रिय जीवनसाथी आनन्द कुमार थापाको कुन अनुहार लिएर आमालाई फेरी तपाइँको छोरा सर्वहारावर्गको लागि शहीद भयो भनौँ भनेर ? यो मेरो जीवनको वास्तविक यथार्थ थियो । मैले सबै पीडा सहनु नै थियो । सहेँ चुपचाप सहेँ । कहिले आँशुले परेली भिजाएर सहँे । कहिले आधा रातामा परेका सपनाका ऐँठनहरुमा सहेँ, जे जती सहेँ चुपचाप रहेँ मन मनै सहेँ ।
म हेडक्वाटरमा उपस्थित भएँ । त्यतिखेरका व्रिगेड कमाण्डर हरिबहादुर श्रेष्ठ कमिसार सन्तु दराई र कमाण्ड इन्र्चाज हालका बहालवाला सभामुख अग्नी प्रसाद सापकोटा थिए । अहिले सम्झँदा लाग्छ, बडो अचम्मले सम्झाई बुझाई भयो मलाई शहीदको रगत खेर जान दिने छैनौँ । भोलिपल्ट रोलकलमा शोकसभा गरियो आनन्दको नाममा रोलकलमा भनियो, आँट चाहिन्छ त क.सन्ध्याको जस्तो त्यो बेला मलाई बहादुर देख्ने मेरा कमाण्डर कमिसारहरु नेताहरु अहिले मलाई चिन्दैनन् किनकि म मेरो परिश्रममा रमाउँछु चाकडी गर्न जान्दिनँ । त्यही रोलकलमा आनन्द कुमार थापा लगायत कमरेडहरुको सपना पुरा गर्नको लागि कुनै पनि कसर बाँकी राख्नेछैनौँ भन्नेहरुबाट नै युद्ध र वलिदानीमाथि घात भएको छ ।
१७ बर्षमा यो कुरा पनि प्रमाणित भयो कि यो सब भन्ने कुरा मात्रै रहेछ संसदभवन भित्र छिरेपछि त्यो हलको मर्यादाले हिजोको वलिदानलाई नजरअन्दाज गर्दोरहेछ । मलाई तिम्रो वलिदानसँग गुनासो छैन, गुनासो छ त हिजोका असरल्ल सपनाहरुलाई कुल्चनेहरुसँग वर्गीय सपनामा कुठाराघात गर्नेहरुसँग ।
एउटा सम्झनामा बितेको पल, मन दुःखाइको प्रवाह थिएन त्यो बेला ! मात्र पर्वाह थियो त वर्गदुश्मनको किल्ला भत्काएर सुनौलो सपना जनताको घर आँगनमा ल्याउने । हिेजोका नायकहरु खलनायकमा फेरिएलान र म तिनीहरुको विरुद्धमा खवरदारी केही लेखौँला भनेर सोचेको पटक्कै थिइनँ ।
मलाई बाँचुन्जेल कसैको गुलामी र उसको असल कारिन्दा बन्नुछैन । सत्य र न्यायको पक्षमा सकेको चिच्याउन सकुँ । ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर थोरै भएपनि सामुहिक स्वार्थमा रमाउन सकुँ । त्यही आर्शिबाद र सार्थकता मिलिरहोस् तिम्रो आत्माबाट ।
सजीव प्राणी त्यसमा पनि मान्छे भएर जन्मिएपछि तिरस्कृत होइन पुरस्कृत भएर बाँच्नुपर्छ, तिमीले भनेका कुराहरु आज पनि उत्तिकै प्यारो लाग्छ मलाई । तिमी जनमुक्ति सेनाको सदस्य मात्र थिएनौ, प्रतिरोधको सकृयता पनि थियो । साँच्चै तिमीले भनेको जस्तो लेख्नुको अर्थ भौतिक विलासिता नभएर उच्च मानवताको अभ्यासकर्ता कम्युनिष्ट थियौँ । लेख्नको लागी लड र लड्नको लागि लेख भन्ने मान्यतालाई आत्मसाथ गरेर नै बन्दुकको गोली जस्तै कलम पनि तिखो थियो तिम्रो ।
क्यामेराले खिचिएका तिम्रा तस्वीरहरु कलरविहिन भए, तर तिम्रो यादहरु झन् उज्जेलित रंगिनकलरमा सजिइरहे । त्यही यादहरूले सच्चा जीवनलाई बाँच्न सिकायो र सच्चाइको जीवन बाँचीरहेको छु । म जन्मे हुर्केको समाजले अझ पनि मलाई निर्धक्क बाँच्न र मेरो पौरखमा रमाउन दिदैन ! मैले रोजेको आत्मनिर्भरता तिनीहरुलाई पटक्कै मन पर्दैन । सधै दोस्रो दर्जाको नगारिक सोच्नेहरुले म मेरो परिश्रममा खुलेर हाँसेको पनि मन पराउँदैन ! त्यतीखेर असाध्यै प्यारो लाग्छ तिम्रो भौतिक उपस्थिति फेरि याद गर्छु, कुनै रात तिमीले भनेका थियौ “यदी मुक्तिको यात्रामा हामी दुईमध्ये म समरको यात्रामा पहिला बिलाए भने पनि बाँकी जीवनलाई भौतिक, शारिरीक र मानसिक अवस्थामा आउने हजारौँ चुनौतिहरुलाई समान गरेर अगाडी बढ्नु । यही काफी छ जीवनमा मार्ग निर्देशनको लागि बाँकी दुनियाँसँग त म एक्लै लडेँ र लड्छु नै” ।
आन्दोलनको नेतृत्व गरेका नेताहरु अहिले सहिद र वेपत्ता योद्धालाई अंशबन्डा लगाउँदैछन् । सहयोद्धाहरु रुपमा त छन्, आत्मा र चिन्तन सहित छन् कि छैनन् ? खोज्नैपर्ने हुन्छ । तिमी जिवित भएको भए – कसलाई राजनीतिक नाइके वा नेता मान्थ्यौ होला ?आजको प्रश्न छ । तिम्रो वलिदानमा तिनले चिच्याउने कर्कश आवाजभित्र जालझेलको मार्गचित्र प्रष्ट देखिन्छ ।
कम्युनिष्ट शासकहरुमा हुनुपर्ने चरित्रबारे दार्शनिक प्लेटोले भनेका थिए, उनीहरु व्यक्तिगत सम्पत्तिविहिन हुनुपर्छ । शिक्षित दार्शनिक हुनुपर्छ । व्यक्तिगत र पारिवारिक जीवनभन्दा माथि उठेको हुनुपर्छ । आम मानिसको भन्दा चिन्तन, चेतना र विवेकको आधारमा उच्चकोटिको एवं लोभ मुक्त हुनुपर्छ । त्यसो भयो भने मात्रै एउटा सुन्दर राज्यको सम्भावना हुन्छ । के यो सम्भव छ नेपालका कम्युनिष्ट पार्टीका नेताहरुमा ? सोचनीय छ ।
जब एउटा क्रान्तिकारी अभियान्त सर्वहारावर्गको वर्ग फेर्ने सपना देख्छ र अजम्बरी सपनालाई सम्झन्छ वर्तमानलाई नियाल्छ, भविस्यको बारेमा गम्छ तब हृदयका भावनाहरु कुर्लेर आक्रोशका शब्दहरु बन्छन् तब मान्छे सेन्टीमेन्टल भइदिँदो रहेछ । प्रतिकृयाहरु अनेक तरिकाले व्यक्त हुन्छन् । शक्तिहरु आदेशमा हाँकिन उर्दी गर्छन् तर विद्रोहीहरु संसारमा कहाँ पो उर्दिमा हाँकिए र ? उर्दिमा नहाँकिएका ज्वारभाटाविरुद्ध शक्तिसामु नैतिकता धितो नराखेका महान सहिद आनन्द कुमार थापा र क. राजेशप्रति लाखौँ श्रद्धासुमन अजर अमंर सम्झना प्रिय आनन्द !
त्यही घटनामा घाइते भएर अहिलेसम्म उपचार नपाउनु भएका घाइते कमरेड राम पाण्डे क.उदिप दोलखा, दिनेश लामा नुवाकोटका कमरेडहरुप्रति उच्च सम्मान छ !