-कुशल लामा तितुङ
देशमात्रै होईन विश्व नै यतिबेला कोरोना विरुद्धको युद्ध लडिरहेको छ । रोगबाट बच्नुमात्र होईन् न्युनतम खाना नाना र छानाको परिपुर्ति हुनु अधिकांस नेपालीको अहिलेको आवश्यकता हो । लकडाउनका कारण लाखौ मजदुरको रोजीरोटी गुमेको अवस्था छ । इतिहासकै बाहुबली सरकार यतिबेला दुइतिहाई नारा भजाएर मात्र होईन जनताका न्युनतम आवश्यकतामा जिम्मेवार बन्न जरुरी हो तर मजदुरीका लागि शहर छिरेकाहरु बिहान र बेलुका खान नपाएरै आफ्नो घरको बाटो पैदल कुद्दैछन् । हप्तादिन महिनादिन लाएर उनीहरु रगताम्मे पैतालासहित घर पुग्नेछन् ।
सरकारका माननीयहरुलाई यतापट्टी ध्यान कहाँ छ र ? मन्त्री तथा विभिन्न पाटीका नेताज्यूहरुलाई भोट हाल्नेबेला यी पैतालाले गाडी भेट्नेछन् । अहिले बाटोमा भुजा र नुन खाएर हिँडेकाहरु चुनावमात्र आओस् न तिमिहरु मासुभात खान पाउनेछौ । यसमा कुनै शंका छैन ।
भोट चाहिने बेला मात्रै खसी ढाल्ने मन्त्री ज्यू नेता ज्यू यी जनता यदि भोकै मरेभने तपाईलाई भोट कसले हाल्छ ? दुख पाको बेला जनतालाई सम्झेको खै ?
कमसेकम भोको पेटलाई सम्झिदेउ है नेताज्युहरु । बाँच्ने अधिकार छ उनिहरुलाई पनि । महामारी एउटा समस्या हो तर त्यसको विकल्प यो हैन कि जनता भोकभोकै मरुन । दैनिक ज्यालादारी गर्ने मजदुरहरुको भावना माथी खेलबाड नगरियोस । विकल्प खोज्ने काम सरकारको हो । उनिहरुको बाँच्न पाउने अधिकारको ग्यारेन्टी सरकारले दिनुपर्छ । यो अवस्थामा लकडाउन ठिक छ तर व्यवस्थापन गर्ने कुरामा चाहिँ आपत्तिजनक छ। उनिहरुले सयौं माइल पैताला यात्रा गरि जीवनरक्षाका लागि भोकभोकै गन्तव्यको खोजीमा हिँडेको देखेर तपाईहरुको सिहंदरवार, शितलनिवास, बालुवाटार, खुमलटार, बुढानिलकण्ठ र अन्य निवासले महसुस गरुन् । नबिर्सियोस् कि जनताको आँखाको आँसुसँग तपाईहरुको साइनो छैन भनेर।
राजनीति गर्नेहरुको लागि यो बेला अग्नि परिक्षा हो । को हुन राजनेता जनताको वास्तविक नेता र वास्तविक सरकार कहाँ छ? भनेर यो घडीमा सबै जनताले खोजेको हुन्छ । त्यसैले महासयहरु विलासी जीवन बिताएर मजदुर जनता रुवाएर तमासा हेरेर बस्ने बेला होइन ।सरकारलाई सहयोग गर्नु हामी नागरिकको पनि कर्तव्य हो । जिम्मेवार नागरिकको हैसियतले आफ्नो कर्तव्य भुल्नु हुन्न । यो महामारीसँग जुध्नु हाम्रो साझा लडाइँ हो । विश्व नै महामारीको चपेटामा निश्चय नै परिरहेकै हो ।
यो बेला नेपाल सरकार नेपालीहरुको जीवनरक्षाका लागि गम्भीर भएर व्यवहारिक भुमिकामा देखिनु पर्ने बेलामा तमासा हेरेर तमासा गरेर किन बस्दैछन? यो बेला चौरासी भेन्जन खाना खाएर अलिशान महलको चौघेरामा सयौंको संख्यामा सुरक्षा गार्ड राखी मस्त निदाउने बेला होईन ।
आम मजदुरहरु चाहिँ भोको पेट बोकी सयौं किलोमीटरको यात्रामा निस्केर जीवन जिउने र जीवन रक्षाको लागि जमिनलाई ओछ्यान आकाशलाई ओढ्ने बनाएर गन्तव्यमा पुग्ने आशमा तड्पिराखेको छ। यो बेला सरकार कहाँ छ र नेता ज्यु कता हुनुहुन्छ भनेर जनताले खोज्ने काम किन भयो? आम मजदुर जनताले खोज्नु भन्दा पहिले सरकारले दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने मजदुरहरुले के खायो भनेर सोच्ने र खोज्ने बेला हो । लकडाउनको असर यति सम्म भयो कि सायद कल्पना भन्दा निकै बाहिर गइरहेको देखिन्छ । दैनिक उपभोग गर्ने आधारभूत कुराहरु जति सबै पहुँचवालाहरुको गोजीमा जाँदैछ।
ज्यालादारी मजदुरहरुको हकमा बसौं त न बास न गाँस ? जाउ त बाटो छ, तर सुरक्षा र साधन छैन । सिमानामा मजदुरको समस्या उस्तै दयनीय छ न त यताको देशले आउन दियो न उताको देशले बस्न दियो । यो समस्या समाधान गर्न अब सरकार कानमा तेल हालेर बस्ने होइन अविलम्ब समस्याको हल गर्ने उपायको खोजिमा लाग्नु जरुरी छ।