सामाजिक सञ्जालहरु मनोरन्जनका लागि मात्र होईन विचार विमर्श र निचोडका लागि समेत एउटा राम्रो माध्यम हुन सक्छ । नेपालमा पछिल्लो विकसित घटनाक्रमका बारेमा फेसबुक ट्विटर इन्स्टा वा अन्य सामाजिक सञ्जालमा व्यङ्ग्य र छेडछाड त हुन्छ नै तर तर्कयुक्त बहस पनि हुने गर्छ । बौद्धिक व्यक्तिहरु विश्लेषकहरु यस मामलामा सामाजिक सञ्जाललाई विचार विमर्श गर्ने एउटा मञ्च नै बनाउँछन् ।
लेखक तथा विश्लेषक नारायण शर्मा र बलराम तिमिल्सिनाले आज सामाजिक सञ्जालमा राखेका विचार धेरैका लागि पठनीय र मननीय छन् ।
बलराम तिमिल्सिना – अग्रगमनको पक्षमा गोलबन्द बनौ !
‘ निकै टाढा पुग्नु पर्ने केही यात्री हिड्दा हिड्दै बाटोमा साँझ पर्यो। बास बस्न मिल्ने गाऊँ अझै केही पर थियो र बाटोमा बाघ भालु लाग्ने जङ्गल थियो। बाटोमा अर्को एउटा सानो समुह पनि भेटियो, जो सानो संख्या भएको हुनाले डर लागेर अरु कोही आउलान अनि हिडौंला भनेर पर्खेर बसेको थियो। दुवै समुहको भेट भयो। कुराकानी भयो। पल्लो गाउँमा घर भएको टोलीले भन्यो- तपाईहरू भेटिएर औधी गजव भयो। अव बाघ भालुसँग लड्न हलवल पनि पुग्छ। तपाईहरूलाई पनि आजको रात कहाँ बास बस्ने होला भन्ने चिन्ता रहेछ ।हामीलाई पनि सानो समुह जङ्गलको बाटो कसरी जाने भन्ने पीर थियो। अब सँगै जाऊँ । आजको रात हाम्रै गाउँमा बस्नु होला । भोलि बिहान आफ्नो बाटो लाग्नु होला । दुबै टोलीकोबीचमा केही बेर गनथन मनथन भएछ र अन्तत केही घण्टाको बाटो सँगै यात्रा गर्ने सहमती भएछ।
यो कथा र हालको आन्दोलनको अवस्था उस्तै उस्तै छ। कोही वैज्ञानिक समाजवादमा जाने र कोही संसद पुनर्स्थापनासम्म मात्रै जाने यात्रीहरू घनघोर जङ्गलमा साँझको समयमा भेट भएका छन। सँगै हिड्ने कि नहिड्ने भन्ने बहस र विवाद पनि छ। जाने बाटो अलि परसम्म एउटै भएकोले गर्दा दुवै थरि केही दिनलाई भने पनि सँगै हिड्ने कि भन्ने कुरा भैरहेको छ। यो यात्रामा यात्रीहरुको आस्था, उद्देश्य र गन्तव्य फरक फरक छ। तर परिस्थितिले केही दिन सँगै यात्रा गर्न उपयुक्त हुन्छ भनेको छ। बिगतका आन्दोलनहरूमा पनि यस्तो हुने गरेको छ।
हामीलाई थाहा छ- हाम्रो यात्राबाट केही गरी संसद छिटै पुनर्स्थापना भयो भने एउटा हिस्सा बिजय जुलुस गर्दै छुट्ने छ। त्यसपछि वाँकि हामी अघि बढ्ने छौं। स्थिति थप जटिल बन्यो भने सहयात्रा पनि लम्बिने छ। आज संसद पुनर्स्थापना मात्र भन्नेहरू भोलि अरु उपलब्धीहरू पनि गुमे भने ती ती माग पनि थपेर लड्न वाध्य हुने छन्।
आआफ्ना घत लाग्ने झर्रा कुरा आआफ्ना घटकहरू तथा मोर्चाहरूमा गरौं/ गरिरहेकै छौं। ऐलेलाई भने “प्रतिगमनका विरुध्द अग्रगमनको पक्षमा” संभव भएसम्मका शक्तिहरू गोलबन्द बनौं र दस्तक दिऊँ। ‘
नारायण शर्मा – एउटा गम्भीर अनुरोध !
‘आजको जस्तो जटिल र गम्भीर अवस्थामा प्रतिगमन र प्रतिकृयावादका विरुद्ध लड्ने लडाइमा प्राय: दुई तरिका अपनाइन्छ । एउटा हो- हालैको एक पोस्टमा Balaram Timalsina ले भनेझैं प्रतिगमनविरोधी शक्तिहरु सबैको एउटै मोर्चा बनाएर लड्ने अर्थात् “मोर्चा एक र प्रहारको निसाना पनि एक” को तरिकाले लड्ने ! अर्को तरिका हो- “मोर्चा फरक/अनेक तर प्रहारको निशाना उही एक” बनाएर लड्ने ! मेरो विचारमा अघिल्लो तरिका अपनाइएमा क्रान्तिकारी वैकल्पिक विचार, बाटो, विधि, व्यवस्थापिका र व्यवस्था आदि सबै ओझेल पर्ने र जनतामा यी दुवै थरी एउटै हुन् भन्ने भ्रम पर्छ ! फेरि क्रान्तिकारी विकल्पवालाको नेतृत्व, शक्ति र प्रभाव हावी हुने अवस्था हुन्थ्यो भने त्यो विकल्प ओझेल पर्ने र भ्रम पर्ने कम हुन्थ्यो र विकल्पलाई स्थापित गर्न र भ्रम चिर्न पनि सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन । त्यसैले दोस्रो तरिका अपनाउनु पर्छ । यसको लागि प्रतिगमनविरुद्ध लड्ने शक्तिहरुसँग प्रतिगमनका विरुद्ध आआफ्नै मोर्चाबाट लड्ने एउटा सहमती गरेर आआफ्ना भिन्न भिन्न मोर्चाबाट प्रतिगमनका विरुद्ध प्रहार गर्दै जाने र यसक्रममा हामी सच्चा अग्रगामी क्रान्तिकारीहरुले समग्र प्रतिकृयावादी संसद, सरकार र सत्ता/व्यवस्थाका विरुद्ध समेत प्रहार गर्दै लड्दै र बढ्दै जानु राम्रो र सही हुन्छ !
अन्यथा पहिलो तरिकाले क्रान्तिकारीहरु पनि गैयो भने संसदीय यथास्थितिवादमै सीमित हुन पुग्ने प्रबल खतरा रहन्छ ! यो स्थिती भनेको अन्ततः र सारत: अनि हाम्रो विचार र लक्षका दृष्टिले तुलनात्मक रुपले प्रतिगमन नै हो ! यसरी प्रतिगमन विरुद्ध लड्नु भनेको यथास्थितिमै अड्नु होइन, अग्रगमनतिर बढ्नु र गन्तव्यमा पुग्नु हो तर त्यसो हुन नसकेमा त प्रतिगमन नै हुने हुन्छ ! बसौं, बिचार गरौं, बहस गरौं, बढौं-लडौं, बिजय गरौं र बैकल्पिक ब्यवस्थाको बहाली गरौं ! ‘
Recent Comments