नुवाकोट ।
नेपालले स्वीकार गरेको अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) ले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका ७ रातमाटेमा निर्माण गर्न लागेको विद्युत सबस्टेसनप्रति बेलकोटगढी नगरपालिकाले असन्तुष्टि जनाएको छ । नगरपालिका ७ स्थित देवीघाट-गल्छी सडकखण्डबाट ६ सय मिटरको दूरीमा पर्ने रातमाटेको चौबिसे भन्ने स्थानमा निर्माण गरिने सबस्टेसन र यहाँबाट आउजाउ गर्ने प्रसारण प्रणालीले नगरपालिकालाई लाभभन्दा क्षति पुग्ने भन्दै स्थानीय सरकारको तर्फबाट बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङले असन्तुष्टि जनाउनुभयो । सबस्टेसनको निर्माणले नगरको राजस्व संकलन, कृषि उब्जनीको उत्पादन, रोजगारीको अवसरलगायतमा नोक्सान पुग्ने भन्दै सबस्टेसन निर्माणसँगै नगरका लागि सहयोग कार्यक्रम आउनुपर्ने माग उनले गरेका छन् । उक्त सबस्टेसन राख्न करिब चार सय रोपनी क्षेत्रफल जग्गा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले खरिद गरिसकेको छ । उक्त स्थानमा चार सय केभी क्षमताको ग्यास इन्सुलेटेड स्विचगियर (जिआइएस) सबस्टेसन निर्माणका लागि अधिग्रहण गरिएको जग्गा अहिले खाली गराउन सुरु भएको छ ।
राष्ट्रका लागि योगदान भनेर स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग पुयाउँदै आइरहेका भए पनि सबस्टेसन निर्माणले स्थानीय एक सय १४ घरपरिवार बासिन्दा विस्थापित हुनुपर्ने उनीहरूले सञ्चालन गर्दै आएको कृषि उब्जनीको उत्पादन घट्ने, उद्योग- कलकारखाना हटाउनुपर्दा रोजगारीको अवसर गुम्ने त्यसबार राजस्व सङ्कलन घट्ने भएकाले असन्तुष्टि जनाउनुपरेको नगरप्रमुख गुरुङले बताउनुभयो । उहाँले पूर्वाधार निर्माणले बेलकोटगढी नगरपालिकालाई प्रतिफल केही नहुने हो भने सञ्चालनमा सहयोग गर्न नसक्ने चेतावनी दिनुभयो ।
एमसिसी कार्यक्रमअन्तर्गत प्राप्त हुने अनुदानमार्फत ऊर्जा र यातायात विकास कार्यक्रम सञ्चालन गरिने भएकाले उक्त दुवै कार्यक्रम एकै स्थानमा सञ्चालन हुनुपर्ने नगर उपप्रमुख शिवप्रसाद दाहालले बताउनुभयो । ऊर्जा कार्यक्रमले निर्माण गरिने प्रसारण लाइनको निर्माण र सबस्टेसनले यहाँको बासिन्दालाई सदियौँसम्म जोखिम पुर्याउने उहाँले बताउनुभयो । तर, यातायात विकासको लाभ पुग्ने कार्यक्रम अन्यत्र लैजाँदा न्यायोचित नभएको उपप्रमुख दाहालले गुनासो गर्नुभयो । ऊर्जाको कार्यक्रममार्फत लप्सेफेदीबाट सुरु हुने प्रसारण लाइन नुवाकोटको रातमाटे सम्म आइपुग्ने र यहाँ निर्माण गरिने सबस्टेसनबाट एक लाइन हेटौँडामा सबस्टेसन निर्माण गरेर त्यहाँसम्म पुयाइने भनिएको छ । अर्को लाइन तनहुँ लगेर त्यहाँ निर्माण गरिने सबस्टेसनमा जोडेर बुटवल हुँदै भारतको सीमासम्म पुयाइने उल्लेख गरिएको छ ।
एमसिसीको अनुदान सहायताअन्तर्गत अमेरिकी सरकारले पाँच वर्षको अवधिमा ५० करोड डलर उपलब्ध गराउनेछ भने नेपाल सरकारको तर्फवार १३ करोड उत्तरबराबरको रकम विनियोजन गर्नुपर्ने भनिएको छ । उक्त कार्यक्रमको कुल रकममध्ये प्रसारण लाइन र सबस्टेसन निर्माणमा ४० करोड डलर खर्च हुने उल्लेख गरिएको छ । यातायात विकास कार्यक्रमअन्तर्गत कपिलवस्तु जिल्लाको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिव खोलासम्मको एक सय मिटर सडक स्तरोन्नतिसहितको कालोपत्रे गरिने भनिएको छ ।
ऊर्जाको कार्यक्रम सञ्चालन भएको स्थानमा नै यातायात विकास कार्यक्रम सञ्चालनको मागसहित प्रसारण लाइन र सबस्टेसनले पुग्ने नोक्सानलाई पुनरुत्थान गर्ने कार्यक्रम ल्याउन बेलकोटगढीले माग गरेको हो । अहिले कार्यक्रम सहायताअन्तर्गत सबस्टेसन निर्माणबाट प्रभावित हुने बासिन्दालाई कृषिअन्तर्गत उपलब्ध गराउन सुरु गरेको जीविकोपार्जन कार्यक्रमसमेत प्रभावहीन भएकाले संशोधन तथा परिमार्जन गर्नुपर्ने माग नगरपालिकाले गरेको छ ।