–छविलाल कोपिला
मेरो आगोसँग
निकै नजिकको सम्बन्ध छ ।
किन कि,
म आगो ओछ्याएर सुत्न सक्छु
आगो ओढेर
र, आगो शिरान राखेर मस्तसँग निदाउन सक्छु ।
हो, दुनियाँले भन्छ
आगोले बन्दूकको नालबाट मृत्यु जन्माउँछ
बम र मिसाइलबाट बिध्वंश जन्माउँछ
र यो पनि भन्छ
आगोले सँधै खरानी ओकल्छ ।
हो, मान्छेको यो विचारसँग
म विमति राख्दैन
र, पुरापुर सहमति पनि राख्दैन ।
किन कि,
यही आँखाले
आगोले वस्ती खरानी भएको देखेको छ
जनयुद्ध–युद्धमा मृत्यु पनि देखेको छ
र, कैयौं भौतिकबस्तुहररू ध्वस्त भएको पनि देखेको छ
तर, त्यत्ति मात्रै होइन
आगोले
बर्षौदेखि सुतिरहेको हिउँ पनि ब्युँझाएको देखेको छ
यसकारण आगो
विस्थापन मात्रै होइन
स्थापन पनि हो ।
मान्छेहरू भन्छन्
आगोको सबैभन्दा ठूलो दुस्मन पानी हो
र, भन्छन्
आगोको अर्को दुस्मन हुरी पनि हो
म यो कुरामा विमति राख्दैन
र, पुरापुर सहमति पनि जनाउँदैन
किन कि
म पानीभित्र आगो पनि देखेको छु
हुरीसँग पनि आगोको गहिँरो सम्बन्ध देखेको छु ।
म भर्खर सडकमा
आगोको एक हुल जुलुस देखें
हुरीले आगोलाई सघाइरहेको पनि देखें
र, उत्तेजना थपिरहेको पानीलाई पनि देखें ।
हेर्दा–हेर्दै हुरीले एक लप्को आगो टिपेर
सिंहदरबार माथि फ्याँक्यो
र मैले देखेंको छु
सिंहदरबार जलिरहेको
दिल्लीलाई भट्भटि पोलिरहेको
र ह्वाइट–हाउस छट्पटाइरहेको ।
आगो, आगो नै हो
कहिलेकाँही आगो जुनकिरी जस्तै हुन्छ
कहिलेकाँही ज्वालामुखी जस्तो पनि भइदिन्छ ।
आगो जब मैनको चुचुरो माथि उक्लियो भने
पूर्णिमाको जूनले पनि दाह गर्छ
र, आकाशका ताराहरु झुम्मिन्छन्
जब पाहुना जस्तै आगो झुपडीका चुलाेहरूमा पस्यो भने
भुइँ–मान्छेहरूका अनुहार मुस्कुराउँछन्
तर, कहिलेकाहीं उही आगो रिसायो भने
र, धरतीमाथि बजारियो भने ध्वस्त बनाउँछ ।
यसकारण
आगोसँग खेलाँची नगर्नु
आगोले मृत्यु जन्माउँछ
आगोले बिध्वंश मच्चाउँछ
र, आगोले खरानी ओकल्छ ।