– सुवास राई
मध्यवैशाखको चर्को घाम
दिउँसो खाजापछि आलश्य र थकित मनले
गाउँघरको पुन: याद गर्यो
त्यो पनि वैशाखकै ।
जहाँ वैशाखमा
नयाँ पालुवाका बासनाले घर जङ्गल नै छुट्टै हुन्थ्यो ।
न्याउली र कुथुर्काका एकोहोरो गीतको तालमा
सुकेका खोल्सीका छहरा र झ्यालझुलहरु चहार्न
कम्ता रमाइलो हुन्नथ्यो ।
घाँस दाउरा मेलापात गर्दै
अभेग गाउँदेखि घण्टौँ हिँडेर स्कुल धाउँदै
बिहानीको खाजामै स्कुल सकाएर घर आउँदै
एसएलसी सकाएर सहर छिरेको हुँ म ।
त्यो पनि वर्षौं भइसकेछ
कसैलाई सुनाउँदा कथाझैँ लाग्न थालिसक्यो ।
सानो छँदा
वर्षमा एक-दुई पटकसम्म बुधबारे बजार झर्ने म
आज देशकै राजधानीमा छु ।
आजकल मलाई बजार जानु
साह्रो गाह्रो काम लाग्न थालिसक्यो ।
पढ्नलाई स्कुल कलेज नजिकै छन् ।
हिँड्नु पर्दैन ।
घाँस दाउरा गर्नुपर्दैन ।
एउटा जागिर छ त्यै गर्छु ।
नुहाउन खोल्सा पँधेरो धाउन पर्दैन ।
उहिले स्कुलमा जस्तो
दिउँसो खाजा खानु समस्या पनि छैन ।
बास नै सहरमा छ ।
बास नै बजारमा छ ।
उहिलेझैँ बजार जान
एक हप्ता अगाडिदेखि योजना बनाउनुपर्दैन ।
गाउँघरमा बजार जाने कुरा सुनाउनु पर्दैन ।
अनि बजारदेखि आउँदा
अरुको समान ल्याइदिनु पनि पर्दैन ।
तै पनि खै किन हो गाउँकै याद आउँछ ।
उहिलेकै त्यो स्कूले जीवन याद आउँछ ।
खोला खोल्सी चहारेको याद आउँछ ।
गाई बाख्रासँग खेलेको
दुध बोकेर बेच्न माने डाँडा चोक लगेको
पहिलोचोटि बुधबारे फिल्म हलमा
निखिल र विराजको फिल्म हेरेको
घर आएर अरुलाई कहानी सुनाको
बारीमा मल बोकेको
दाउरा चिर्न खेतला गाको ।
याद आउँछ
गाउँघरमा चिन्ता, पित्र, गोठे, खोला पूजा खाको
र आइरहन्छ यस्तै यस्तै याद
र सम्झिइरहन्छु सधैँ सधैँ गाउँ ।
बच्चैदेखि हो नि
यो मौसम मलाई औधी राम्रो लाग्ने
बिरिङ खोलामा माछा मार्दा होस् कि
माछासँग खोलामै भात खाँदा
या त हिलेखोलाका झ्यालझुलहरुमा
क्याटिसले चरा हान्दा होस्
या होस् छाँगे खोलामा झिँगे गडेरा उघाउँदा
लाम्पाखामा मृगको सिकार खेल्न जाँदा होस् कि
राती बाँसमा कालिज मार्न गाकोदेखि पाहा मार्न गाकोसम्म ।
मलाई बिर्सनै नदिने यी यादहरुलाई
मैले फेरि आज याद गरेँ ।
याद गरेँ
अदुवा रोपेको अनि स्याउला झारेको
अदुवाबारी डिलमा मकै छरेको
पाखाभरि डडेलो लगाएर पाखै कालो बनाको
बारीको डिलबाट बडेमानको ढुङ्गा लडाको
अनि बदमासीका अनेक लिला देखाउँदै कराको ।
अहो के गरिँदैनथ्यो र ती वैशाखमा
उफर्दै दर्गुर्दै चाहर्दै लड्दै घिस्रदै
के-के हो के-के
सबै बाल्यकालका वैशाखहरु कति रोमाञ्चक थिए
म अहिले पनि सम्झन्छु अनि
रोमाञ्चित हुन्छु
रोमाञ्चित छु ।
उसो त आज मौसम उही छ परिवेश फरक छ
मन उही छ उमेर फरक छ
म त उही छु जिम्मेवारी फरक छ
र आज पनि वैशाख उही छ तर पल फरक छ
गाउँमा त वैशाख उस्तै हुँदो हो नि
यहाँ सहरमा पो पालुवामा पनि कालो धब्बा बसेको छ ।
र पसेको छ
धुलो धुवा प्रदुषण र अस्तव्यस्तता मेरो मनभित्र पनि ।
अब फेरि बाल्यकालतिर फर्कनु अनि गाउँतिर फर्कनु
उस्तै-उस्तै हो ।
सहरमा केही छैन रोजीरोटी छ
गाउँमा सबथोक छ रोजीरोटी छैन ।
म सहरबिना बाँच्न सक्छु तर रोजीरोटीबिना सक्दिनँ ।
मजस्तै कति वैशाख उतै छोडेर सहर पसे अरु पनि
अनि गुल्जार गाउँ अचेल सुनसान होला ।
उता बस्ती मासिएर जंगल बनेको छ
यता जंगल मासिएर घना बस्ती बसेको छ ।
यसै बितिगए पन्ध्र वैशाख
थाहा छैन अझै कति बित्नेहुन्
याद बनेर
बाल्यकालमै छोडेका ती वैशाखका पदचाप सम्झेर
अहिले म न रमाइलो गर्न सक्छु
न रमाइलो मान्न सक्छु
फरक छ उबेलाको वैशाख अनि यो बेलाको वैशाख ।