काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई आग्रह गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तरगतकै हवाई तथा पर्यटन समितिका सभापति संयोजकत्वमा गएको उक्त टोलीले मन्त्री तामाङलाई भेटी पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिनुपर्ने माग राखेको हो ।
समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले अहिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ का कारण पर्यटन क्षेत्रमा विदेशी लगानी भित्रन नसक्ने भन्दै त्यसलाई तत्काल समयसापेक्ष बनाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । यसैगरी चालू आर्थिक वर्षको बजेतमार्फत हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा त्यसले नेपालको हवाई क्षेत्र धराशायी हुने अवस्था सिर्जना भएको बताउनुभयो । सरकारले लिएका अव्यवहारिक नीतिका कारण नेपालको पर्यटन क्षेत्र दैनिक रूपमा धराशायी हुँदै गएको उहाँको भनाई थियो ।
यसैगरी सरकारले तारे होटल तथा लक्जरी रिसाेर्टहरुमा पर्यटकसँग अतिरिक्त थप दुई प्रतिशत विलासिता कर लगाउँदा त्यसले विश्वमै नकारात्मक सन्देश गएको र त्यसलाई हटाउनुपर्ने बताएका छन् । यसैगरी उनले भारतीय पर्यटकलाई आकर्षित गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णपुरमा सञ्चालनमा ल्याइनुपर्ने माग अघि सारेका छन् ।
यसैगरी कार्यक्रममा मन्त्री तामाङले महासंघको तर्फबाट सभापति बस्नेतले राखेका मागलाई आफूले सरोकारवाला मन्त्रालयसँग सहकार्य गरी बजेटमार्फत समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ। ‘तपाईँहरूले जुन माग अघि सार्नु भएको छ त्यो राष्ट्र र व्यवसायिक हितमा छ,’ उहाँले भन्नुभयो, ‘सरकारले व्यवसायी र उपभोक्तालाई असर पर्ने काम गर्दैन तसर्थ सरोकारवाला मन्त्रालयसँग छलफल गरी उक्त समस्या समाधान गर्नेछु ।’









































