पत्रकार दामोदर न्यौपानेको पुस्तक घरको शिक्षा शनिबार सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित लोकार्पण कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद विजय ज्ञवाली लगायतले लोकार्पण गर्नुभयो ।
शिखा प्रकाशनले बजारमा ल्याएको पुस्तकमा बाल मनोविज्ञानमा आधारित विषयवस्तु समावेश गरिएको छ। पुस्तकबारे बोल्दै मनोविद ज्ञवालीले पुस्तकमा बालहृदय र पुरुषमनोविज्ञान हाबी भएको बताउनुभयो । उहाँले घर नै बालबालिकाका लागि पहिलो हुकाई स्थल भए पनि अहिले घरभित्रै कसरी बालबालिकाहरु असुरक्षित बनिरहेका छन् भन्ने पाटोलाई लेखक न्यौपानेले घुमाउरो रुपमा प्रस्तुत गरेको बताउनुभयो ।
प्रा.डा. कोइरालाले बालमनोविज्ञानलाई नबुझेर अभिभावकले आफ्नो इच्छामा चल्न सिकाउने प्रवृत्ति बढिरहेको समयमा पुस्तकले विभिन्न सिद्धान्त, दर्शन, सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट पनि किताबको ज्ञानभन्दा धेरै शिक्षा हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।
पुस्तक कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा घर सबैभन्दा सुरक्षित स्थान भए पनि बालबालिकालाई सिकाइ र संस्कारसँग जोड्न नसक्दा हुनसक्ने सम्भावित घटना दोहरिन नदिन अभिभावक चनाखो हुनुपर्ने विषयमा केन्द्रित छ । पत्रकार न्यौपानेको नवौँ पुस्तक घरको शिक्षाको भाषा सम्पादन मीनराज वसन्तले गर्नुभएको हो ।