कविः गोविन्द विनोदी
बनाई राजधानीमा ठूला कङ्क्रिटका कुटी
गर्नुहोस् देशको सेवा देशकै ढुकुटी लुटी !
जनता मतदाता हुन्, मत दिन्छन्, जिताउँछन्
सोच्दैनन् कुभलो कैल्यै, भलो मात्रै चिताउँछन्
दिनुहोस् जति नै धोका, सहन्छन् धैर्य साँच्दछन्
आशाको वारुणी प्यूँछन्, तृप्त हुन्छन् र हाँस्तछन्
नामै छ प्रभुको ठूलो काम क्यै नगरे पनि
फल आकाशको मीठो नपाके-नझरे पनि
परिवर्तनको भाका सुसेल्दै भ्रान्ति छर्नुहोस्
चाहे भोकै मरून् कोही आफ्नै उदर भर्नुहोस्
नारा विकासका सारा मुखमै छन् सुशोभित
हुन्छन् समृद्धिका ताना फाइलैमा सुरक्षित
कुर्सी जोगाउने ध्यान सत्तामा रहँदा भयो
यदि गुम्नगए सत्ता मानौँ सर्वस्व नै गयो
स्वार्थका लहराभित्र कृपा नाता विशेष छन्
भ्रष्टाचारसितै रम्ने चाहना अझ शेष छन्
बाटा आर्जनका थुप्रै छन्, तिर्छन् जनता कर
सम्मान्य प्रभुजीलाई कल्ले विरोध गर्छ र ?
आवारा मेघझैँ गर्जी ईर्ष्या विद्वेष बोक्नुहोस्
नचाई जनतालाई दल-मादल ठोक्नुहोस्
जो जो छन् बलिया बाङ्गा प्रभुकै मतियार छन्
गलामा फूलका माला प्रभुलाई तयार छन्