भारत/एजेन्सी ।
१६ डिसेम्बर २०१२ मा सामुहिक बलत्कारपछि हत्या गरिएकी निर्भयाका दोषिहरु चारै जनालाइ आज फाँसी दिइएको छ ।
बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो ।
भारतीय नागरिक निर्भया (परिवर्तित नाम) माथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको अदालतले ठहर गरेको छ ।
राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । अदालतले दोषी ठहर गरेका मध्ये एक जनालाई अपराध भएका बेला बालिग नभएको भन्दै सुधार गृहमा पठाइएको छ ।
६ जनाको आक्रमणमा परेकी निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो । मेडिकल साइन्स पढीरहेकी निर्भयामाथिको अमानवीय घट्नापछि भारतमा यसको चर्को विरोध भयो ।
भारतले जस्टिस वर्मा समिति गठन गरेर त्यसैको सिफारिसको आधारमा २०१३ मा बलात्कार जस्तो अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गरेको थियो ।
२०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गरेका थिए । फाँसी नदिन अभियुक्तले गरेको अन्तिम अपिललाई अदालतले खारेज गरेसँगै मृत्युदण्ड दिइएको हो ।