
चीनबाट नेपालका लागि पहिलो मालवाहक अन्तर्राष्ट्रिय रेलवे सञ्चालनमा आएको छ । दैनिक उपभोग्य वस्तु र इलेक्ट्रोनिक सामानले भरिएको अन्तर्राष्ट्रिय रेल छङ्तु अन्तर्राष्ट्रिय रेलवे सुख्खा बन्दरगाहबाट नेपालको राजधानी काठमाडौंतर्फ प्रस्थान भएको चाइना रेडियो इन्टरनेशनल नेपाली सेवाले जनाएको छ । चीनको सछ्वान प्रान्तीय सदरमुकाम छङ्तुबाट दक्षिण एसियाली देशहरूमा जाने यो नै पहिलो अन्तर्राष्ट्रिय मालवाहक रेल भएको बताइएको छ ।
छङ्तुबाट छुटेको रेल कान्सु प्रान्त हुँदै तिब्बतको सिगात्सेसम्म पुग्ने छ। त्यसपछि ती सामानहरू केरूङ नाका हुँदै स्थलमार्गबाट कन्टेनरमा ढुवानी गरिएर अन्त्यमा काठमाडौं आइपुग्ने छ। यस रूटको कुल दुरी लगभग २ हजार ८ सय किलोमिटर भएको बताइएको छ।
छङ्तु सुवानसिन सप्लाई चेन लिमिटेडका प्रमुख थाङ फङछाउले जानकारी दिएअनुसार, गाडी र जहाज जस्ता परम्परागत यातायातका साधनको तुलनामा अन्तर्राष्ट्रिय रेल ढुवानी सुरक्षित र अत्यन्तै भरपर्दो हुन्छ। रेल सञ्चालनसँगै सम्पूर्ण यातायातको समय २० दिन कम भएको चीनको भनाई छ।
उक्त रेललाई दक्षिण एसिया आर्थिक तथा व्यापार कोरिडोरको रसद नेटवर्कको एक भाग भएको चर्चा गरिएको छ । यस रेलसेवासँगै चीन-पाकिस्तान आर्थिक करिडोर क्षेत्रहरूमा प्रवेश गर्ने छङ्तु अन्तर्राष्ट्रिय रेलवे कम्पनीका उपमहाप्रबन्धक वाङ वेइखुनले बताउनुभयो । यसले दक्षिण एसियाली क्षेत्रको व्यापार लगायत उच्च गुणस्तरीय विकासको प्रवर्द्धनका लागि हितयुक्त हुने विश्वास गरिएको छ।