सुनवल १२ मंसिर ।
पश्चिम नवलपरासीको सुनवलमा चौथो सुनवल महोत्सव सुरु भएको छ । महोत्सवको लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार सन्तुले उद्घाटन गर्नुभएको छ । सो क्रममा उहाँले उद्योगमैत्री वातावरण गराउन लागिपर्ने बताउनु भयो । प्रदेशको समग्र विकासका लागि महोत्सव महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
महोत्वस उद्घाटनमा लुम्विनी प्रदेश सभा सदस्य खड्ग बस्नेत, बैजनाथ जैसवाल, खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैह्रे, नेकपा माओवादी केन्द्रिय सदस्य भविश्वर तिवारी, सुनवल नगरपालिका नगर प्रमुख विमला अर्याल, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न राजनैतिक दल, संघसंस्था, कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
मेला उद्घाटनअघि विभिन्न संघसंस्था,आदिवासी जनजाति संगठन, आमा/महिला समूह, विद्यालयको र्याली, झाँकि प्रर्दशनी, नाचगान सहित प्रभातफेरी र्याली गरिएको थियो ।
मेलामा सुनवलको पहिचान झल्किने गरि मुख्य प्रवेशद्धार बाबा बर्दगोरियाको साँढेको मुर्ति र दाँयावाँया कृष्ण मन्दिर बनाइएको छ । साथै गुरुङ, मगर तथा थारु समुदायको परम्परागत घर, तथा खानाको परीकार, कृषि, विज्ञान प्रदर्शनी र टिकटक जोन, होटल तथा व्यापारका स्टलहरु राखिएको छ ।
महोत्सवमा लघु उधमी , स्थानीय उत्पादन, कृषि, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी १ सय ५८ वटा स्टलहरु रहने आयोजक उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले जानकारी दिनुभयो ।
कृषि, उद्योग, व्यापार, कला र संस्कृति समग्र सुनवलको उन्नती भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव मंसिर २४ गते सम्म सन्चालन हुने छ । महोत्सवको दोस्रो दिन भोलि गायक शिरिष देवकोटा, बसन्त लम्साल, भुवन अधिकारी, गायिका संगिता चितौरे लगायत स्थानीय कलाकारको विशेष प्रस्तुति रहने छ ।