काठमाडौं ।
आन्तरिक कलहमा रुमल्लिएको सत्तारुढ नेकपाका दुई अध्यक्षबीच विवाद समाधानका लागि गर्ने भनिएको छलफल अन्यौलमा परेको छ । एकता पूरा नहुँदै पार्टी विभाजनको संघारमा पुगेपछि दुई अध्यक्षबीच निणार्यक छलफलको तयारी गरिएको छ । तर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सत्ताको नेतृत्वबाट राजीनामा दिने बिषयमा थप छलफल गर्न अनिच्छुक रहेको सन्देश दिएपछि छलफल अन्यौलमा परेको हो । ‘राजीनामाका बिषयमा हो भने छलफल गर्न आवश्यक छैन भन्ने सन्देश प्रधानमन्त्रीका तर्फबाट आएको छ ।’ प्रचण्डको सचिवालयले भनेको छ, ‘सर्त राखेर छलफल गर्नुको औचित्य नदेखिएकोले अहिलेसम्म भेटको समय तय भएको छैन ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पनि अहिलेसम्म दुई अध्यक्षबीच भेटवार्ताको कार्यक्रम तय नभएको बताए । पार्टी एकतामा गम्भिर खतरा पैदा भएकाले दुई अध्यक्ष र अन्य शिर्ष तहमा छलफल गर्न आवश्यक रहेको भन्दै हिजो पार्टीको जारी स्थायी कमिटी बैठक भोली शनिबारसम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि अध्यक्ष प्रचण्डले पार्टी फुट्न नदिन आफुले आज पहल गर्ने बताएका थिए ।
असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा अधिकांस सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता र पार्टी दुवैको नेतृत्वबाट राजीनामा दिन दबाब बढाएका छन् । तर ओली अहिले नै दुवै पद छाड्न तयार नभएपछि पार्टी विभाजनको संघारमा पुगेको छ । दुई अध्यक्षबीच छलफल नभएपनि दुवैजना आफु निकटका नेताहरुसँग आन्तरिक परामर्शमा रहेका छन् ।