गोपी ज्ञवाली
अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय महासचिवको जिम्मा बहन गरिसकेका रामप्रसाद बञ्जाडे (कमरेड टंकमणि) जनयुद्धमा होमिएपछि भूमिगत हुनु त्यो बेलाको आवश्यकता र पार्टी निर्देशन थियो । पार्टीले फौजी कार्बाही सुरु गरेपछि खुला मोर्चामा काम गरी रहेका साथीहरुको खुला रहने अवस्था थिएन र पार्टी नेताहरुले भूमिगत शैली अपनाउन पार्टी निर्देशन थियो । तत्कालिन शाही सरकारले देशमा संकटकाल लगाई माओवादी मात्र होईन संसदवादी पार्टीका नेताहरुलाई पनि गिरफ्तार वा नजरबन्द गर्न थाल्यो । त्यो समयमा माओवादीले पनि सरकारविरुद्ध प्रतिरोधात्मक आक्रमणलाई तीब्रता दियो । शाही सरकारले देशमा शंकटकाल लगाएर सेना परिचालन सुरु गरेपछि सुरुको समयमा गण्डक क्षेत्रसहित देशका विभिन्न स्थानबाट ब्यापक गिरफ्तारी र हत्याको अभियान चलायो ।
२०५८ सालमा जब देशमा संकटकाल लाग्यो, त्यो समयमा पार्टीको पुराना सबै संरचनाहरु भत्किए । क्रान्तिकारी योद्धाहरुको ब्यापक गिरफ्तारी भयो । देशभरि ब्यापक हत्या अभियान सुरु भएपछि विद्रोही माओवादीले पनि पार्टी नेताहरुको जिम्मेवारीमा ब्यापक हेरफेर ग¥यो । त्यही हेरफेरपछि यो पंक्तिकारको कमरेड टंकमणिसंग गोरपखपुरमा भेट भयो । नेपालमा संकटकाल लागेपछि नेपालमा मात्र होइन, भारतको राजधानी दिल्ली, लखनऊ, गोरखपुर, पटना, सिलीगुडी, मुजप्फरपुर, बलरामपुर, रुपडियालगायतका विभिन्न सहरहरुबाट माओवादी नेता, कार्यकर्ता एवं समर्थकहरुको गिरफ्तारी ब्यापक रुपमा भयो ।
यस अवस्थामा भारतका कुनै सहरमा पनि पार्टी कार्यकर्ता एवं समर्थकहरु सामन्य रुपमा वा खुला परिचयमा बस्न सक्ने अवस्था थिएन । युद्ध चर्किदै गर्दा जनमुक्ति सेनाका लागि युद्ध सामग्रीहरुको व्यवस्थापन एउटा चुनौती बन्दै गएको थियो । यसैगरी देशका विभिन्न स्थानमा दैनिक रुपमा हुने हमला र प्रतिहमलामा परि योद्धाहरु घाइते हुने क्रम बढेको थियो । यिनै समस्याको हल गर्न पार्टीले जनमुक्ति सेनाअन्तर्गत जनसैन्य प्रतिष्ठान गठन गर्यो । जनसैन्य प्रतिष्ठानको केन्द्रीय इञ्चार्ज डेपुटी कमाण्डर बलदेव हुनुहुन्थ्यो । बलदेवको नेतृत्वमा पहिलो चरणमा कमरेड टंकमणि, चाचा, विवेकलगायतको नेतृत्व टोली खटिएको थियो । पछि यो टिम विस्तार गरियो । सेनाको प्राविधिक विषयको आपूर्तिका लागि यो टोली आवश्यक पर्दा भारतका विभिन्न सहर र नेपालका विभिन्न स्थान खासगरी आधार इलाकामा मुभ हुने गर्दथ्यो ।
कमरेड टंकमणिसंग यो पंक्तिकारले लामो समयसम्म सहकार्य गर्ने अवसर प्राप्त ग¥यो । यो टिम भारत र नेपालका विभिन्न सहरी क्षेत्रमा काम गर्दथ्यो, किनकि गाउँगाउँमा चलेको जनुयुद्धमा आवश्यक सामग्रीको व्यवस्थापन शहरी क्षेत्रबाट नै हुने गर्दथ्यो । त्यो बेलामा शाही सेनाले चाउचाउ र चिउरा समेत गाउँमा लैजान प्रतिबन्ध लगाएको थियो । तर यो प्राविधिक टिमले रोल्पा, गुल्मी, बेनीलगायतका भिडन्तमा घाइते भएका योद्धाहरुलाई भारतको दिल्ली र पञ्जावसम्म लगेर उपचार गराएको थियो । यस्तै ग्रिनेट बनाउने पानीका पाइपबाट लिएर बिस्फोटकका भारीहरु पहाडका टापु टापुमा पु¥याइएको थियो । सेनाको कम्ब्याट ड्रेसबाट लिएर मोटारमा प्रयोग हुने साना डटपेनका स्प्रीङसम्म गाउँ–गाउँ पु¥याइएको थियो । यस प्राविधिक काममा धेरै साथीहरुको सहकार्य महत्वपूर्ण रहेको भए पनि कमरेड टंकमणि (रामप्रसाद बञ्जाडे)को भूमिका अत्यन्तै सक्रिय र रचनात्मक थियो ।
युद्धकालमा स्वास्थ्य वा अन्य प्राविधिक कामका लागि पैसाको आवागमन पनि एउटा ठुलो र जटिल विषय थियो । पैसा लिएर हिंड्न अत्यन्तै जोखिमपूर्ण काम थियो । प्राविधिक काम र स्वास्थ्यमा नै सबैभन्दा ठुलो रकम खर्च हुन्थ्यो । विभिन्न सहरका विभिन्न स्थानमा पैसा पु¥याउनु र बिरामीको उपचार गर्नु सजिलो थिएन । कमरेड टंकमणी धेरै पटक साना–साना कामबाट ठुला–ठुला योजना बनाउने काममासमेत सक्रिय रुपमा गर्नुहुन्थ्यो । सहरी क्षेत्रमा सरकारी सेना वा सीआइडीलाई छलेर काम गर्नुपर्ने हुन्थ्यो । त्यसका लागि नयाँ नयाँ टेक्निकको प्रयोग गर्नु आवश्यक थियो । यो विषयमा टंकमणिको दिमाग अलि एडवांस नै चल्थ्यो । सरकारी सुरक्षा निकायका मनिसहरुलाई छल्ने अनेक तरिका निकाल्नुहुन्थ्यो । एक पटक बुटवलबाट पैसा गोरखपुर लैजानु थियो । पैसा धेरै नै हुने गर्दथ्यो । झोला भरि पैसा संकटकाल लागेको बेलामा लैजान सजिलो थिएन । बुटवलबाट बेलहिया नाकासम्म सेनाको अनेक ठाउँमा चेकजाँच थियो । टंकमणिले एउटा आइडिया खोज्नु भएछ । ठुलो आकारको टिभीको भित्री भागका सबै पार्टहरु निकालेर खाली गरी त्यो ठाउँमा पैसाका बन्डलहरु भरेर टिभि सुनौलीमा मर्मत गर्न हिंडालेको भन्दै आइडिया निकाल्दा सघन चेकजाँच गर्ने सुरक्षा निकायले पत्तो नै पाएनछ ।
संकटकालको सुरुमा पहिलो पटक टंकमणिसंग मलाई तात्कालिन पार्टीका केन्द्रीय सदस्य कमरेड निर्मलकुमार (डोरप्रसाद उपाध्याय) ले भेटाउनु भयो र अबदेखि मैले उहाँको नेतृत्वमा काम गर्ने भनि निर्देशन सुनाउनु भयो । त्यसपछि मैले टंकमणिको नेतृत्वमा काम सुरु गरेको थिएँ । प्राविधिक कामका लागि भारतका सहरहरुमा बस्न सजिलो थिएन । शहरी क्षेत्रमा कोठा लिँदा आप्mनो काम धन्दा पत्याउने खालको हुनु पर्दथ्यो । त्यसका लागि भारत सरकारको आधार कार्ड वा अन्य परिचय पत्र देखाउनु पर्ने थियो । त्यस्तो काममा टंकमणिले गोरखपुरमा सञ्जय शर्माको नामबाट परिचय बनाउनु भएको थियो । गोरखपुर जस्ता उत्तरी भारतका सहरहरुमा माओवादी खोज्न भन्दै नेपाल सरकारका सीआइडी र भारतीय सिआइडीहरु बाक्लो रुपमा लागेका सूचना आउने गर्दथ्यो । टंकमणिले सञ्जय शर्माको नाममा एउटा व्यापारी वा सप्लाएर्सको परिचय बनाई पार्र्टीको काम कुशलताका साथ सम्पन्न गर्नुभयो । गोरखपुरको बसारतपुरमा एउटा हार्डवयर सप्लायरको रुपमा सञ्जय शर्मा (कमरेड रामप्रसाद बञ्जाडे) लामो समय बस्नुभयो । एक जना भारतीय मानिसको घरमा सञ्जय शर्माको भाई म प्रकाश तिवारी भनि लामो समय बसीएको मात्र थिएन, त्यहाँबाट पार्टीका अत्यन्तै महत्वपूर्ण काम सम्पन्न गरिएको थियो । भारतीय जमिनमा बस्दा सञ्जय शर्माका कर्मचारीको रुपमा कमरेड केशर, कमरेड सुरज, कमरेड तीर्थलगायतका साथीहरुको टिमले नेपालका घाइते योद्धाहरुलाई भारतको विभिन्न सहरमा पठाएको थियो भने पार्टीका धेरै नेताहरुको आवागमनको र अस्थाई बसाईको व्यवस्थापन गरिएको थियो ।
एउटा ठाउँमा केही समय बसेपछि कमरेड टंकमणिको टोली अर्को ठाउँमा सर्ने गर्दथ्यो । एक स्थानबाट अर्को स्थानमा सरेपछि नाम र काम पनि फेरिन्थ्यो । सुरजपुरा मोहल्लामा दार्जलिङका चिया व्यापारीको परिचयमा कोठा लिइएको थियो । पार्टीको कामले एक दिन त्यो कोठामा कमरेड कान्छाबहादुर (कमरेड देव गुरुङ) आउनु भयो । छिमेकीले उनी नेपाली जस्ता मान्छे को हुन भनि सोधेपछि गोरखा सेनाका कर्नल साहब भेटघाटमा आउनु भएको भनि घरबेटीलाई बताएपछि हाम्रो सम्मान बढेको थियो । चिया व्यापारीको परिचयमा बसेका कारण घरबेटीलाई विश्वासमा लिनका लागि टंकमणिले गोलघरको ठूलो चिया पसलेबाट विभिन्न प्रकारका चियाका सेम्पलहरु किनेर देहरादुनको चिया भनि वितरण गर्नुभयो । यही विश्वासले त्यो घरमा लामो समय बसी पार्टीको महत्वपूर्ण कामलाई सम्पन्न गर्नु भएको थियो ।
नेपालमा युद्ध चर्कीदै जाँदा नेपालका सहरी क्षेत्रमा रहेका छापाखानामा पार्टीका दस्दावेज, प्रकाशनहरु एवं पर्चा पम्पलेट प्रकाशनमा पनि कमरेड टंकमणिको महत्वपूर्ण भूमिका रह्यो । एक पटक जनमुक्ति सेनाको सहयोग रसीद छाप्ने पार्टीबाट निर्देशन भयो । यस क्रममा भारतीय सहरका विभिन्न छापाखानामा पुग्दा पहिला छाप्न तयार हुने र पछि माओवादी भन्ना साथ डराएर नछाप्ने गरे । तर एउटा छापाखानाले छाप्न सहमत भएपछि त्यो छापाखानाबाट धेरै काम गराउनु भएको थियो । भूमिगत विभागमा धेरै र महत्वपूर्ण कामको मुख्य योजनाकारको रुपमा कमरेड टंकमणिले भूमिका निर्वाह गर्नुभयो । हजारौं काम र योजनाहरु कमरेडको नेतृत्वमा सम्पन्न भयो । युद्धको सुरुको समयमा नै बम विस्फोटको घटनामा परि घाइते हुनु भएका कमरेड टंकमणि जनयुद्धका एउटा जिवित शहीदको रुपमा रहनु भएको थियो ।
जनयुद्धको अन्तिम चरणमा सरकारी पक्षको निर्देशनमा नवलपरासीमा माओवादी प्रतिकार समूहको उदय भएको अवधिमा कमरेड टंकमणिलाई नवलपरासीको पार्टीको जिल्ला इञ्चार्जको जिम्मामा पठाइएको थियो । जहाँ माओवादी प्रतिकार समितिलाई नियन्त्रणमा लिन कमरेड टंकमणिको महत्वपूर्ण भूमिकालाई बिर्सन मिल्दैन । युद्धकालमा टंकमणिको नेतृत्वमा सम्पन्न गरेका अनेक घटनाहरु छन्, जसलाई अहिले यो आलेखमा लेख्न सम्भव छैन । पार्टीको युद्धकालिन केन्द्रीय सदस्यको जिम्मामा रहेका कमरेड टंकमणी राज्यको कुनै सुविधाको पदमा जानु भएन । एक पटक अर्घाखाँचीबाट शान्तिकालकोे सुरुमा संविधान सभाको निर्वाचनमा मात्र सहभागी हुनु भएको थियो । पछिल्लो समयमा एमाले र माओवादीको एकताका क्रममा जिम्माविहीन हुनुभएका कमरेडलाई पार्टीले पुनः रुपन्देहीको जिल्ला इञ्चार्जको जिम्मा दिएको केही समयपछि सडक दुर्घटनामा परि असामयिक निधन भयो । पार्टीप्रतिको लगाव र त्याग कहिल्यै बिर्सने छैनौ, अलबिदा कमरेड टंकमणी !