काठमाडौं ।
नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । आज बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन पारित गर्ने बिषयमा सदस्यहरुका धारणा सुन्ने कार्यक्रम थियो ।
बैठकको दोस्रो दिन आजको एजेन्डा सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् ।
बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ।
बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरूले ओलीको राजीनामा माग्ने तयारी गरिरहेका छन् । आफ्नो चर्को आलोचना हुने बैठकमा नबस्ने सोचअनुसार नै प्रधामनन्त्री निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न खोजेको आरोप अर्को पक्षले लगाएको छ।
एमसीसीको बिषयमा दुइ अध्यक्षबीच र नेकपाका शिर्ष नेताबीच मतभेद छ । प्रधानमन्त्री ओली र निकटका सदस्य एमसीसी पारित गराउन बहुमत सदस्यको जोड घटाउमा समेत लागिसकेका छन् भने अर्का अध्यक्ष प्रचण्ड नेता माधव नेपाल झलनाथ खनाल भिम रावल लगायतका नेता यथास्थितिमा पारित गराउन नहुनेमा अडिग छन् ।
नेपाली काँग्रेसले सुरुवातदेखि नै एमसीसी पारित गराउन दबाब दिदै आएको छ । नेकपाको आजको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आलोचना सुन्नुपर्ने भएकाले अनुपस्थित भएको टिकाटिप्पणी भएको छ ।