काठमाडौं ।
समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधबार अबेर राति पार्टी एकीकरण भएको छ । आज एकिकृत पार्टी जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ताका लागि विहान दुवै पार्टीका नेताहरु आयोग पुगेका थिए । १३८८ नं मा पार्टी दर्ता भएको नेताहरुले जानकारी दिएका छन् ।
समाजवादी पार्टीका असन्तुष्ट सात/आठ सांसदले पार्टी विभाजन गर्ने तयारी गरेपछि दुई पार्टीबीच एकताको सहमति भएको हो ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजनका लागि खुकुलो हुने गरी अध्यादेश ल्याएपछि यी दुई पार्टीलाई आफ्ना सांसद्हरु ४० प्रतिशत सङ्ख्या लिएर बाहिरिने चिन्ताले सशङ्कित तुल्याएपछि एकता भएको विश्लेषण गरिएको छ । पार्टीभित्रको असन्तुष्टि भुँइचालोका रूपमा तरङ्गित हुने देखिएपछि हतारमा पार्टी एकताको सहमति गरिएको विश्लेषण छ । यी दलबीच एकताका लागि वार्ता भने लामो समयदेखि चल्दै आएको थियो ।
पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति गरिएको छ । चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।
एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत्सिंह भण्डारीले मात्र हस्ताक्षर गरेका छन् । समाजवादीका तर्फबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठको हस्ताक्षर छ ।
यसैविच रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुटेको छ । समाजवादी पार्टी राष्ट्रिय जनता पार्टीसँग एकीकरण भएको घोषणा हुँदै गर्दा यादवको नेतृत्वमा सात सांसदले फुटाउने निर्णय गरेका हुन् ।
फुटाउने पक्षमा रेणु यादवसहित मोहम्मद इस्तियाक राई, उमाशंकर अरगरिया, प्रदीप यादव, कलुदेवी विश्वकर्मा, डा. सुरेन्द्र यादव र रेणुका गुरुङ छन् । सदस्य संख्या ७ नपुगेपछि डा. सुरेन्द्र यादवलाई मनाइएको थियो ।
७ सांसद पुगेमा राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश अनुसार समाजवादीको ४० प्रतिशत सांसद संख्या पुग्नेछ । तर, समाजवादी पार्टी र राजपा एक भइसकेको अवस्थामा यसले कानुनी जटिलता ल्याउन सक्छ ।
Recent Comments