काठमाडौँ ।
युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे – त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । युरोपेली युनियनको एसिया निर्देक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।
युनियनको उच्चस्तरीय टोलीले त्रिशूली थ्री बी हब सवस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो ।
टोलीले आयोजना निर्माणले पछिल्लो समय गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषजनक देखिएको बताएको निरीक्षणमा सामेल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबसीमा २२०÷१३२÷३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।
अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैँकको अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैँकको आयोजनामा सहुलियतपूर्ण ऋण छ ।
त्रिशूली र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि चिलिमे – त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । यो आयोजना चैतभित्र सक्ने लक्ष्य लिइएको छ।