काठमाडौँ ।
उग्र बन्दै गएको राजावादीको आन्दोलन साम्य पार्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा कर्फ्यु लगाए पनि स्थिति शान्त बन्न सकेको छैन । प्रदर्शनकारी उग्र भएर व्यक्तिका घर र पार्टी कार्यालयमा तोडफोड र आगजनीमा उत्रिएपछि काठमाडौँ प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्युसँगै सडकमा नेपाली सेनासमेत परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि सेना परिचालन गरिएको हो । स्थिति शान्त नभएपछि अहिले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले तीनकुने क्षेत्रबाट भीडलाइ तितरवितर पारेका छन् । प्रहरीको हतियार नै खोसेपछि हवाइफायर समेत गरिएको थियो । अश्रुग्याँस र पानीको फोहोराले पनि अवस्था नियन्त्रणमा नआउँदा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।
राजावादीहरुले प्रमुख दलका पार्टी कार्यालयदेखि निजी घरसम्मलाई निसाना बनाएका छन् । आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोडको प्रयास भएको छ । राजावादीको आक्रमण हुनसक्ने भएपछि च्यासलमा रहेको नेकपा एमालेको पार्टी कार्यालय, माओवादी र नेकपा एसको पार्टी कार्यालयमा सुरक्षाकर्मी तैनाथ छन् ।
प्रदर्शनकारीले कोटेश्वरमा रहेको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् । त्यहाँका सुरक्षागार्डमाथि हातपात भएको छ । उनीहरुले सार्वजनिक सवारी साधनमा आगजनी गरेका छन् । आगो निभाउन प्रयोग भएको दमकलमाथि ढुङ्गामुढा भएको छ ।