नुवाकोट ।
औषधि व्यवस्था विभाग काठमाडौँ र जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयुक्त टोलीले म्यागङ गाउँपालिकाका औषधी पसलहरुमा छापा मारेको छ । टोलीले म्यागङ गाउँपालिका वडा नं. ०३ मा संञ्चालित छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित संञ्चालनमा रहेको पाइएकोले सिलबन्दी गरेको छ।
यस्तै टोलीले विदुर नगरपालिका र तादी गाउँपालिकाका बजार क्षेत्रमा रहेका ९ वटा औषधी पसलमा छापा मारेको छ । सोक्रममा विदुर नगरपालिका २ वट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका ४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल र विदुर फार्मेसी गरी चार र विदुर नगरपालिका १ ढुंगेमा रहेको समीर फार्मेसी एक गरी पाँचवटा औषधि पसलले विक्री वील वीजक जारी नगरी औषधी विक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही रु.२ लाख जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिएको छ ।
यसैगरी तादी गाउंपालिका क्षेत्रभित्रको खरानीटार बजारमा अनुगमन गरिएका तादी गाउँपालिका ३ मा रहेका तादी फर्मा र दुप्चेश्वर फार्मेसी गरी २ वटा औषधी पसलहरुमा खरिद विल नभएको समेतको अवस्था देखिएको उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम जनही रु.१० हजार जरिवाना तोकी ७ दिन भित्र जरीवाना रकम बैंक दाखिला गरी बैंक गर्न निर्देशन दिएको छ ।