भरतपुर ।
चितवनको भरतपुर कोरोना बिशेष अस्पतालमा अख्तियारले छापा मारेको छ । गत चैतको अन्तिम दिन राती अस्पतालका कर्मचारीले नै सामान चोरेको भिडियो सार्वजनीक भएपछि अस्पतालमा अख्तियारले छापा मारेको हो ।
हिजो सिसिटिभि फुटेज भिडियो बाहिरिएको थियो । हेटौंडाबाट पुगेको अख्तियार दुरुपयोग अुनसन्धान आयोगको टोलीले अस्पतालमा मंगलबार छापा मारेर अस्पतालका कागजपत्र नियन्त्रणमा लिएको छ । कोरोना अस्पतालमा आर्थिक अनियमितताको आशंका गरिएको छ। प्रदेश ३ सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ दिएको थियो।
यसैबीच कोरोना अस्पतालमा चोरी भएको भिडियो फुटेज बाहिरिएपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले स्पष्टोक्ति दिएको छ। मंगलबार विज्ञप्ति निकालेर कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको छ। कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तीमा कोरोना विशेष अस्थायी अस्पताललाई भरतपुर अस्पतालले संचालन गर्ने सहमतिपछि सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकाले एकै ठाउँका सामानलाई व्यवस्थित गरिएको जिकिर गरिएको छ। अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा स्टोरबाट सामान पोको पारेर लगेको देख्न सकिन्छ। अस्पतालभित्रका पङ्खा, मास्क (मुखावरण), स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानी/छानी उठाएर प्याक गरेरे उनीहरुले लगेका थिए। समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको भिडियोमा देखिएको छ। उनीहरुले अँध्यारो कोठामा मोबाइल बालेर सामान उठाएर लगेको भिडियो सार्वजनिक भएको हो ।
भरतपुर कोरोना अस्पतालमा कर्माचारी चोरी गर्दै । भिडियो: अनलाइन खबर ।
Posted by कम्पनपोस्ट डटकम on Monday, April 27, 2020