श्रद्धेय अभियन्ता साथी,
अभिवादन !
विषय : सर्कुलर ।
पृय साथी,
यही २०७८/४/५ मा हाम्रो महाभियान MCC खारेज अभियान- २०७६ को संस्थापक अभियन्ताहरुको संक्षिप्त जुम बैठक संयोजक नारायण शर्माको अध्यक्षतामा सम्पन्न भयो । बैठकबाट निम्न महत्वपूर्ण एजेन्डामा गम्भीर छलफल गरेर केही जरुरी विषयमा अहं निर्णयहरु लिइएको छ ! तिनको आत्मसात गरी दृढता र तदारुकताका साथ कार्यान्वयनको लागि यो सर्कुलर जारी गरिएको छ ।
बैठकका एजेण्डाहरु :
१. श्रद्धाञ्जली ।
२. वस्तुगत परिस्थितिबारे सूचना आदानप्रदान र विश्लेषण/आँकलन ।
३- mcc संस्थापक कमिटीमा थपघट तथा संयोजक हस्तान्तरण ।
४. सचिवालय गठन र कार्यविभाजन ।
५. अभियानको संगठनात्मक संजाल विस्तार र परिचालन ।
६. आगामी कार्यक्रम ।
७. विविध ।
निर्णयहरु :
१. नेपाल र विश्वका जनक्रान्ती र राष्ट्रिय मुक्ती आन्दोलनका क्रममा विगतदेखि वर्तमानसम्म र देसदेखि विदेससम्मका ज्ञात-अज्ञात सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली र यसक्रमका घाइते-अपाङ्गहरुप्रती उच्च सम्मान गर्दै विचार, राजनीति, संगठन र संघर्ष आदि विभिन्न क्षेत्रबाट योगदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, योद्धा र जनताको सम्झना र कदर स्वरुप उहाँहरुका सपना र लक्ष-उद्देश्यहरुलाई सफलीभूत पार्ने प्रण-प्रतिज्ञासहित श्रद्धाञ्जली दिंदै मुठ्ठी उठाएर १ मि. मौन धारण गरियो ।
२. वर्तमान परिस्थितिबारे सूचना आदान-प्रदान र वस्तुगत विश्लेषण-आँकलन गर्दा आजको नेकाका सभापती शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकार MCC पास र कार्यान्वयन गर्ने दृष्टिबाट हेर्दा MCC माग गर्नेदेखि भित्राउनेसम्मका सम्पूर्ण गतिविधि गर्नमा प्रत्यक्ष र मुख्य भूमिका खेलेका व्यक्ती र शक्ति भएका र यहाँसम्म कि विपक्षमा रहँदासमेत सत्तापक्षलाई MCC तत्काल हुबहु पास गर्न सुझाव, दवाव, ताकेता, चेतावनी र खबर्दारी समेत गर्दै आएको नेका र त्यसका सभापति देउवालगायतका नेताहरु तथा संशोधन र परिमार्जन गरेर पनी यसलाई पास गर्नुपर्छ भन्दै आएका माओवादी केन्द्र र एमालेको माधव-झलनाथ समूह लगायतका शक्ति र नेताहरु हाल सत्तामा भएकाले यसबाट कुनैपनि बेला कुनैपनि बहानामा हठात् र बलात् MCC पास हुने तीव्र खतरा रहेको ठहर गरियो ! यसरी हालको स्थिति विगतको भन्दा पनि झन् बढी गम्भीर, संवेदनशील, जटिल र कठिन हुन गएकोले त्यसै अनुपातमा हाम्रो विरोध, अवरोध र प्रतिरोधको मात्रा र गुणलाई तत्कालैदेखि बढाएर लाने र यसनिम्ति एकता र सहकार्य गर्नसकिने व्यक्ति, शक्ति र संघसंस्थाहरुसंग सम्पर्क र छलफल गरी अभियानमा सरिक गराई संघर्षलाई प्रभावकारी, शक्तिशाली र निर्णायक बनाउने कुरामा एकमत भयो ।
३. MCC खारेज अभियानका संस्थापकहरुको यो मूल कमिटी स्थापना गर्दा नै सानो, त्यति धेरै तयारीबिना, सिमित महानुभावहरुको उपस्थितिमा र अलि हतारमा पनि गठन भएकोले यसभन्दाबाहिर रहनुभएका MCC विरोधी कैयौं वरिष्ठ, स्थापित, सकृय र सक्षम व्यक्तित्वहरुलाई समेटेर नेतृत्वमा पनि आवश्यक रोटेसन/परिवर्तन, अत्यावश्यक विभाग निर्माण र यथोचित कार्यविभाजन गर्ने आवश्यकता र चर्चा यस अघिको बैठकबाट औपचारिक रुपले समेत भैसकेकोले यसबारेमा केही गृहकार्य र तयारी गरी यही ८ गते बस्ने अर्को बैठकबाट टुङ्गाउने निर्णय भएको छ । तसर्थ यस्मा थपघट गर्नुपर्ने, जिम्मेवारी दिनुलिनुपर्ने कमिटीभित्र र बाहिर रहनुभएका इच्छुक र सक्षम व्यक्ति, शक्ति र संघसंस्थाहरुसँग यसबिचमा सम्पर्क, छलफल र अनुरोध गरेर विश्वस्त रिपोर्ट लिई आगामी ८ गतेको बैठकमा आउने र यस विषयलाई पनि आगामी बैठकबाटै टुङ्गाउने निर्णय गरियो ।
४. हाललाई आगामी कार्यक्रमको रुपमा MCC अत्यन्त घातक भएको र यस्लाई वर्तमान सरकार र संसदले यथाशीघ्र पारित गर्ने चरम खतरा रहेकोले यसलाई पास हुनदिनबाट रोक्नको लागि सम्बन्धित सबै शक्ति, संघसंस्था, संगठन, अभियान, मंच, मोर्चा, व्यक्तित्व र जनसमुदायहरुलाई संस्थागतरुपले पनि एक सार्वजनिक आह्वान गर्दै अपिल प्रकाशन र वितरण गर्ने र सो अपिल तयारी गर्न घनश्याम शर्मा पौड्यालको नेतृत्वमा रघु घिमिरे र आर सी न्यौपाने रहनु भएको टोलीलाई जिम्मा दिइएको छ । सो अपिल फाइनल गर्ने समेतका अन्य आवश्यक कार्यक्रमलगायतका विषयहरुबारे छलफल र निर्णय अत्यावस्यक तयारी पछि गर्ने समेत ठेगान भएको छ ।
अन्तमा संयोजक नारायण शर्माद्वारा वर्तमान स्थिति अत्यन्त गम्भीर भएकोले यो बैठकमा उपस्थित भएर सकृयतापूर्वक छलफलमा सहभागी भएकोमा उपस्थित अभियन्ताहरुलाई हार्दिक धन्यवाद दिंदै बैठक समापन गरियो ।
साथीहरु !
बैठक, बैठकका निर्णय र यिनको कार्यान्वयनसँग सम्बन्धी यो सर्कुलरको मर्मलाई आत्मासात गरी अत्यन्त गम्भीर भै देस र जनताप्रतिको आफ्नो जिम्मेवारी इमानदारी र वफादारीपूर्वक पूरा गर्नु-गराउनु हुनेछ भन्ने पूर्ण विश्वास सहित हार्दिक अनुरोध गरिन्छ ।
धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित,
– नारायण शर्मा
संयोजक
MCC खारेज अभियान – २०७६