काठमाडौं ।
मार्क्सवादी एकता अभियान नेपालले नेकपा (क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ सँग अन्तरक्रिया गरेको छ ।
अभियानले नेपालमा रहेका सबै वाम पार्टीहरुसँग नेपालको कम्युनिष्ट आन्दोलन र बर्तमान सरकारको कार्यशैलीलाई बिषय बनाएर अन्तरक्रिया गर्ने अभियान अन्तर्गत महासचिव ‘किरण’ सँग आइतबार जूम अन्तरक्रिया गरेको हो । ‘किरण’ भन्दा पहिले ऋषि कट्टेल, सीपि मैनाली र मोहन बिक्रम सिंहसित अभियानले अन्तरक्रिया गरिसकेको छ ।
अन्तरक्रियामा किरणले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको हुनाले यसको विकल्पमा नयाँ जनवादी राज्य व्यवस्था आवश्यक रहेको धारणा राख्नु भयो । यसका लागि क्रन्तिकारी शक्तिहरु संगठित हुने क्रम जारी रहेको र आफू त्यसका लागि प्रयत्नरत रहेको जानकारी पनि नेता किरणले गराउनु भयो । नेता किरणले आफ्नो पार्टीको अवधारणाबारे पनि संक्षेपमा जानकारी गराउनु भएको थियो ।
अवधारणासँग जोडिएर नेकपा(क्रान्तिकारी माओबादी) को रणनीति र कार्यनीति बारे सहभागीहरुबाट जिज्ञाशा राखिएका थिए । २ घण्टा चलेको अन्तरक्रियात्मक कार्यक्रममा नेता किरणले संसदीय पद्धतिलाई नै सबै उपलब्धी ठानेर जनगणतन्त्रको उपलब्धी हासिल गर्ने आवश्यकताबोध नगर्नु नै वर्तमान सत्तासीन पार्टीको कमजोरी रहेको धारणा राख्नु भएको थियो । उहाँले क्रान्तिकारीधारका कम्युनिष्ट पार्टीहरुलाई एकत्रीत गरेर अगाडि बढ्न आवश्यक भएको बारे पनि आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा नेता किरणसँग अभियानका सचिवालय सदस्यहरु महादिप पोखरेल, बाबुराजा महर्जन र रघु घिमिरे,सचिव राजेन्द्र देशभक्त, अभियानका सल्लाहकारहरु प्रोःओम गुरुङ र नारायण शर्मा,पे्रम संग्रौला र बिदुर शर्मा लगायतले आ—आफ्ना जिज्ञाशा राख्नु भएको थियो । नेता किरणले सबैका जिज्ञाशाहरुको सविस्तार जवाफ दिनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता अभियानका संयोजक डाःशम्भु कट्टेलले गर्नु भएको थियो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई सफल तुल्याउन नेपालका बाम दलहरुबीच सहकार्यको आवश्यकता रहेको र त्यसमा कमरेड किरणको महत्वपूर्ण भूमिका हुन सक्नेमा जोड दिनु भएको थियो । सह–संयोजक प्रा. रमेश अधिकारीले अभियानको अवधारणाबारे संक्षिप्त जानकारी गराउँदै स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रमको संचालन अभियानका प्रवक्ता निमकान्त पाण्डेले गर्नु भएको थियो ।








































