-नारायण शर्मा
हाल चलिरहेको नेकपाको ओली सरकार र विद्रोही नेकपा (विप्लव समूह) बीचको वार्ता देस र जनताको निम्ति सफल र सार्थक बनाएर देसलाई बाह्य हस्तक्षेप र आन्तरिक द्वन्द्वबाट सदाको निम्ति मुक्त गर्ने हो भने निम्न कुराहरुलाई पनि मध्यनजर गरी वार्ता गर्दा राम्रो हुन्थ्यो भन्ने लागेको छ :
१. वार्तामा दुवै पक्ष एक अर्काप्रति मित्रतापूर्ण, सकारात्मक, सद्भावयुक्त र विश्वसनीय हुनुपर्छ ।
२. दुवै पक्ष, तिनका नेतृत्व र वार्ताकारहरु स्वयं पनि विगतका आग्रह-पूर्वाग्रह, आवेग र प्रतिशोधबाट मुक्त हुनुपर्छ ।
३. दुवै पक्षले देस, जनता, क्रान्ती र विकासलाई केन्द्रविन्दुमा राख्नुपर्छ ।
४. वार्ताकारहरु लचिलो, संवेदनशील, खुला र स्पष्ट हुनुपर्छ भने मूल नेतृत्वहरु पूर्णरुपले गम्भीर र जिम्मेवार हुनुपर्छ, त्यसमा पनि राज्यपक्ष केही बढी नै हुनु जरुरी हुन्छ ।
५. समस्यालाई स्थायी समाधान दिने दृढ अठोट र पूर्ण संकल्पसहित प्रतिबद्ध र कटिबद्ध हुनुपर्छ ।
६. देसी-विदेसी, वामपन्थी-दक्षिणपन्थी, मजदुर-बुद्धिजीवी, अनुभवी-विज्ञ आदि सबैका सूचना र सुझाव सुन्ने तर निर्णय आफ्नो ब्रह्म र विवेकले गर्ने गर्नु पर्छ ।
७. जीत भए दुवैको र सबैको हुने तर हार भए देस र जनताको हुने अनि समस्या उल्झिरहने कुराले अन्ततः र सारत: कसैको पनि हित नहुने कुराको मर्मबोध हुनुपर्छ ।
८. वार्ताकारहरुमा निष्ठा, नैतिकता, स्वच्छता र इमान्दारिता यथेष्ट हुनुपर्छ ।
९. हतारो, हचुवा, हठात् र बलात् वार्ता गर्ने कुराबाट सकेसम्म बच्ने र पर्याप्त स्पष्टता, हार्दिकता र ममताको साथ निर्णयमा पुग्ने गर्नुपर्छ ! तर यसो गर्दा ढिलायो कि बिलायोको अवस्था उत्पन्न नहुनेतिर सजग र सकृय रहनु पर्दछ ।
१०. साक्षी, सहजकर्ता वा सहयोगी, सल्लाहकारको चयन गर्दा स्वतन्त्र, निस्पक्ष र निस्वार्थ सच्चा समर्थकको एक टोली नै बनाउनु पर्छ । साथै अन्य विभिन्न स्वतन्त्र व्यक्तित्वहरुसाग समेत अलग-अलग वा सामूहिक सुझाव लिएर अघि बढ्नुपर्छ ।
११. एक अर्काप्रति आक्रामक होइन बरु सहयोगात्मक र रुपान्तरण हुने -गर्ने गरी आत्मसमीक्षक हुनुपर्छ ।
१२. वार्ताका दुवै पक्षले देसलाई नै नेतृत्व दिने गरी विहङ्गम दृष्टि अवलम्बन गर्ने, विशाल छाती बनाउने र सामान्यत: सबैलाई समेटेर अघि बढ्ने तथा विशेषत: शोषित-उत्पीडित जन समुदाय र सिङ्गो राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सार्वभौमिकताको पक्षलाई दृढतापूर्वक सम्बोधन गर्ने जस्ता विभिन्न महत्वपूर्ण विषयहरुमा उच्च साहस गर्नैपर्छ ।
१३. वार्ता देसलाई दरो र दीगो निकास र विकास दिने गरी अर्थात् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरुको स्थायी समाधान गर्ने गरी हुन लागेको हो भने यस सन्दर्भमा राष्ट्रिय सहमती आवश्यक देखिन्छ ! त्यसनिम्ती सार्वजनिक रुपमै प्रस्तावित र चर्चित गोलमेच सम्मेलन/ राष्ट्रिय राजनीतिक समीक्षा सभा/ सर्वोच्च राष्ट्रिय राजनीतिक सभा/ राष्ट्रिय राजनीतिक परामर्श समिति जस्तै कुनै बृहद सर्वशक्तिमान सभा/सम्मेलन गरेर एउटा निष्कर्षमा पुग्नुपर्छ ।
१४. त्यही सभाले निर्णय गरे अनुसार अन्तरिम संयुक्त राष्ट्रिय सरकार बनाउने, अन्तरिम सरकार संचालन नियमावली बनाउने, नेपाली मोडेलको समाजवाद उन्मुख नयाँ शासन-प्रणालीको मोडेल तयार गर्ने र सो अनुसारको संविधान समेत तयार गरी अन्त्यमा त्यसलाई निर्वाचित जनप्रतिनिधिसभाबाट अनुमोदन गराई लागू गर्नु-गराउनु पर्नेजस्ता कुराहरुमा आमसहमती गर्नुपर्छ ।
१५. यो वार्तामा सहभागी दुवै पक्ष कम्युनिस्ट पार्टीकै भएकोले प्रकारान्तरले वा सारमै पनि यो वार्ता दुवै पार्टीबीचको वार्ता हुनाले सकेसम्म पार्टी एकता हुने तर्फ, नसके पनि दीर्घकालीन संयुक्त मोर्चा वा कम्तीमा तत्कालीन कार्यगत एकता अथवा कतिपय राष्ट्रिय-अन्तर्राष्ट्रिय र सैद्धान्तिक-राजनीतिक विषयमा भद्र समझदारी बनाएर जाँदा राम्रो हुने देखिन्छ ।









































