काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ। अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएको हो। मृतक पुरुषको स्वाब संकलन गरी सेती प्रदेशिक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनी असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। प्रवक्ता गौतमले उनी मधुमेहको बिरामी भएको बताए। मृतक पुरुषसँगै कुरुवा बसेका २ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ। बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो। बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ।
Recent Comments