भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजाको शिलान्यास भएको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भवनको शिलान्यास गर्नुभयो ।
सार्वजनिक निजी साझेदारी पिपिपी मोडलमा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता महानगरसँग भएको छ । भरतपुर महानगर र आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिबीच गत साउन २४ गते सम्झौता भएको हो । आर्या बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताउनुभयो ।
उहाँका अनुसार यो भवनमा चिड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट क्यासिनोलगायतका संरचनाहरु रहने छन् । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाइको भवन बन्ने छ । उहाँले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा करिब २ अर्ब लगानीमा भवन निर्माण हुन लागेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर मेट्रो प्लाजा चितवन भरतपुरका जनताको चेतना, संस्कार र सम्यतालाई प्रतिबिम्बित गर्ने प्रोजेक्ट भएको बताउनुभयो। यसले दिने सन्देश पनि बहुआयामिक हुने उहाँको भनाइ छ । यसको निर्माणसँगै यसले चितवनको समग्र विकासमा एक कोसेढुङ्गा साबित गर्ने बताउँदै दाहालले यो मोडल देशकै लागि नमुना मोडलको रुपमा विकास हुने दाबी गर्नुभयो ।
प्रचण्डले आफ्नो बाँकी जीवन समाजवाद उन्मुख विकासका लागि प्रयोग गर्ने पनि दाहालले बताउनुभयो । दाहालले चितवनको विकास राष्ट्रको विकासको मोडल बनोस् भन्ने आफ्नो चाहना भएको र चाहनाअनुसार नयाँ फड्को मार्ने दावी पनि गर्नुभयो ।
Recent Comments