सेयर
-बलराम तिमल्सिना
पहिले पहिलेका राजा महाराजाहरू
सुन्दर युवती खोज्न
घोड सवार हुन्थे
जसको अनुहारमा आँखा लाग्छ
दरवारमा झिकाउँथे र मजा बटुल्थे !
राजा महाराजाले भनेपछि
नाइँ भन्ने कसको हिम्मत
ती फक्रदै गरेका कोपिला भए पनि चुँडिन्थे
महाराजाहरूका भर्याङ्गमा
ती दुवै तरफ निर्वस्त्र उभ्याइन्थे
र महाराजको स्पर्सको प्रतिक्षा गर्थे !
पहिले पहिलेका महाराजको पालामा
आजको जस्तो बजार थिएन
त्यसैले सुन्दरीहरू खोज्न
ती काँठ र गाउँतिर जान्थे !
महाराजका नजिकका
छोटे महाराजहरू पनि त्यसै गर्थे !
हिजो आज महाराजहरू छैनन्
महाराज टुक्रिएर
टुक्रे महाराजहरू बनेका छन्
टुक्रे महाराजहरू पनि
वंशानुगत स्वभावकै छन्
तर एउटा फरक छ अचेल
सुन्दरीहरू खोज्न
महाराजहरू धाउनु पर्दैन
हिजो आज बजार छ
बजारले सवै खाले खेला गर्छ
बजारले नै सुन्दरी मेला गर्छ !
उमेर तोकिएका
अनुहार तोकिएका
उच्चाई मोटाई र तौल तोकिएका
अविवाहित हुनै पर्ने शर्त तोकिएका
सुन्दरीहरूको विज्ञापन खुल्छ
त्यसपछि हाट बजार लाग्छ
टुक्रे महाराजहरूलाई रिझाउन
प्रतिस्पर्धा चल्छ
टुक्रे महाराजहरूले
हेर्न चाहेका सबै अङ्गहरू
सबै प्रदर्शनीमा राखिन्छ
टुक्रे महाराजहरूले
अह्राएको अनुसार हिडाइन्छ
क्याट वाक :
अर्थात नो ठमठम
सुस्तरी एकदम सुस्तरी
र तिनीहरूबाट सुन्दरी छानिन्छ !
यसरी छान्ने हाटबजार
हरेक वर्ष लगाइन्छ
किन कि-
अघिल्लो सालका सुन्दरीहरूले
आफ्नो आकर्षण गुमाइसक्छन्
नाथे हाड छालाको आकर्षण
खिइन्छ, घोटिन्छ, झोलिन्छ !
टुक्रे महाराजहरूलाई सजिलो छ
बजार छ / साहुजीहरू छन्
बिक्न तयार हाड छालाहरू पनि छन्
हरेक वर्ष हाट बजार राखिन्छ
नयाँ सुन्दरीहरू छानी छानी चाखिन्छ !
महाराज पनि मख्ख
बजारका साहुजी पनि मख्ख
चेतनहीन हाड छालाका डमीहरू पनि मख्ख !
हिजो आज
युवतीहरूको हाट बजारलाई
सुन्दरी प्रतियोगिता भनिन्छ !
सबैभन्दा कुरुप बजारको नाम
सुन्दरी प्रतियोगिता !
टुक्रे महाराजहरूको मन
संसारमै सबैभन्दा कुरुप हुन्छ
त्यसैले तिनीहरू
कुरुप कुरा असाध्यै मन पराउँछन् !
shere this