-बलराम तिमल्सिना
म गिद्ध
अर्थात सबैले गाली गर्ने दुखी चरो !
तिमीहरूका गाईवस्तु मर्छन्
यत्रतत्र फालिएका हुन्छन्
कुहिरहेका हुन्छन्
फैलिरहेको हुन्छ दुर्गन्ध
र दुर्गन्धसँगै रोग व्याध
म सफाई चरो
टाढाटाढाबाट पनि हेरिरहेको हुन्छु
र तत्काल ओर्लन्छु त्यहाँ
जहाँ म ओर्लन जरुरी हुन्छ !
स्यालले जस्तै
म तिम्रा खोरका खसी घिसार्दिन
बाघले जस्तै
म तिम्रा गोठका गाई निमोठ्दिन
सुतिरहेको देख्नासाथ
म हतार हतार ठुँगिहाल्दिनँ कसैलाई !
दूर क्षितिजबाट नियाल्छु
ओर्लन्छु र अनुसन्धान गर्छु
मेरै जिम्माको हो भन्ने पक्का भएपछि
साथी बोलाउँछु
पेट पनि भर्छु–सफा पनि गर्छु !
म गिद्ध
अर्थात दुनियाँले सराप्ने चरो !
युद्ध तिमीहरू गर्छौ
महामारी तिमीहरूलाई आउँछ
लासहरू थुप्रिन्छन्
दुर्गन्ध तिमीहरूलाई आउँछ
बिना तलव/बिना भत्ता
बिना पुरस्कार/बिना आदेश
म स्वविवेकले ओर्लन्छु
र थप महामारीबाट बचाउँछु !
म गिद्ध
अर्थात प्रकृतिको सफाई चरो !
गिद्धे दृष्टि/गिध्दे नजर
गिद्धे चित्त/गिद्धे आत्मा
मसँग जोडेर तिमीहरूले
मान्छेलाई गाली गर्ने शब्द !
ए वुद्धिमान मान्छे !
तिमीहरूलाई थाहा छ ?
प्रकृतिबाट हामी लोप भयौं भने
चराहरूको एउटा प्रजाति मात्रै लोप हुने छैन
बरु अन्तरिक्षबाट बिचरण गर्ने
र प्रकृतिको सफाई गर्ने
एउटा निर्दोष प्राणी पनि लोप हुने छ !
सिनो खानुलाई
हाम्रो कमजोरी या खराव आचरण नसोच
मन त ताजै मासु खाने होला रे
के भोलिबाट सुरु गरौं त हामी ?
हामीले सुनेका छौं
सबैभन्दा स्वादिलो मासु
मान्छेको हुन्छ रे !
Recent Comments