काठमाडौं ।
प्रधानमन्त्री केपी ओली आजबाट ७० वर्षमा प्रवेश गरे । जन्मदिनको अवसरमा ओलीलाई दिनभर शुभकामनाको ओइरो लाग्यो । तर जन्मदिन मनाउनकै लागी जन्मघर पुगेका ओलीले हेलिकप्टर चार्टर गरेको र केकमा देशकै नक्सा काटेको भन्दै अपरान्हदेखी चर्को आलोचना सुरु भएको छ ।
तेह्रथुम पुगेका प्रधानमन्त्रीले जन्मदिन मनाउन गरेको राज्यको खर्च र तामझामले नेकपाकै पार्टी आचारसंहितालाई पनि गिज्याएको भन्दै आलोचना भएको छ । यस्तै तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएपछि विरोध भएको छ ।
जन्मदिनको केकमा नेपालको नक्सा बनाएर काटिएको र उक्त केके लैजानका लागि हेलिकोप्टर चार्टर्ड गरिएको कुराले प्रधानमन्त्रीको चौतर्फी विरोध भइरहेको छ । कतिपयले ओलीलाई गणतान्त्रिक नेपालको राजाको संज्ञा दिएका छन् । अधिकांशले प्रधानमन्त्रीलाई राम्रो सल्लाहाकार राख्न सुझाब दिएका छन् ।
फेसबुकमा रेखा थापा लेख्छिन, ‘नियतवस नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक काटाइको सन्देश बुझिएन ।/
फेसबुकमै महाविर विश्वकर्मा लेख्छन्, ‘मान्छेहरु भन्छन् प्रधानमन्त्रीको ‘किड्नी’मा समस्या छ । तर यो फोटो हेरेपछि म सोचिरहेछु – त्यसको नाम ‘किड्नी’ हैन ‘दिमाग’ होला ।’
यस्तै शारदा भुषाल झा ले राष्ट्रघाती प्रधानमन्त्री भन्दै ‘केक युद्धले निसास्सियो मेरो आत्मा मेरो देश’ लेखेकी छन् । इशा गुरुङ्गले लेखेकी छन्, देश नै खान नसके पछी केक नै काटेर खानु भएछ प्रधानमन्त्री ज्यु ।’
यस्तै लेख कार्कीले लेखेका छन् , ‘हे गोकुलेश्वर महादेव ! सूर्य थापाहरु सल्लाहकार हुँदा यस्तो केक बन्नु त ठिकै हो । तर ओलि बा आफैंले या वरिपरिका वरिष्ठहरुले यत्तिको सामान्य कुरामा त ध्यान दिनुपर्ने हो । देशको नक्सा काटेर जन्मदिन मनाउने सोच कतापटिबाट फुर्दो हो ..?!’
दामोदर न्यौपानेले लेखेका छन्, ‘रास्ट्रवाद त हात्तिको देखाउने दाँत जस्तै हो ! देश त केक काटे जस्तै भित्र भित्र काटी सकेका छन, एउटा उदाहरण हो गोकुलधाम’
नेकपाले गत माघ ५ गते पार्टी भित्र विशेष परिपत्र जारी गर्यो। बामदेव गौतम नेतृत्वको संगठन विभागको पहिलो बैठकले पार्टीको नियमावली संशोधन,संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम र पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहितासहितको कार्ययोजना तयार गरी केन्द्रीय सचिवालयमा पेश गर्यो। सोही अनुरुप केन्द्रीय सचिवालयको पुस १३ गते सम्पन्न बैठकले कार्ययोजनालाई परिमार्जनसहित पारित गर्यो। आचारसंहितमा परिवार भित्र बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने सर्कुलरमा उल्लेख छ।
‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ जारी गरिएको सर्कुलरमा भनिएको छ। तर सर्कुलरविरुद्ध प्रधानमन्त्री आफैले जन्मदिन मनाएको भनेर नागरिकस्तर र कार्यकर्ताबाट समेत आलोचना भएको हो ।