हिजो आईतबार बिहानदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।
स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको नेपाली सेनाका प्रवक्ता सिलवालले जानकारी दिनुभयो । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली सेनाको टोलीभन्दा अगाडि नै घटनास्थलमा पुगेको थियो । अहिले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव संकलन गरिरहेको बताइएकाे छ । कोही पनि जिवित नरहेको सेनाले बताएको छ ।
शेरचनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उहाँले भन्नुभयो।
हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो ।
सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।