-निभा शाह
मार्क्स खेती पोगटो गयो
अच्याल नयाँ खेती आयाको छ
नक्सा खेती
मार्क्सको मुकुण्डो
कमिसन र भ्रष्टाचारमा
च्यातिनु च्यातिएपछि
अचेल नयाँ खेती आएको छ
नक्सा खेती
यो नक्सा खेती हो जागुराम
उता मदारीले बाटो बनाउँदै गर्दा
यता नचनी नक्सा काटेर
लेण्डुप नृत्य गर्दै थिए
अचेल यही नक्सा खेती
फस्टाएको छ ।
हिजो नक्सा काटेर
केक खाने लेण्डुपहरु
आज लुकाएको नक्सा देखाएर
लेण्डुपले लेण्डुपलाई नक्सा
उपहार दिदैँछ
जसो कि यिनले
बाघको पुच्छर उखाले
जसो कि यिनले
बाघको दाह्रा नङ्ग्रा झिकेर
जनतालाई उपहार दिए ।
सुस्तामा सुतेर
लिम्पियामा उठेजस्तो गर्ने
यिनको नियत खराब छ
दिलमा देश हुनेले
नक्सा काटेर केक खाँदैन जागुराम
यो नक्सा खेती भोट खेती हो जागुराम
यो नायल नदी जस्तै लम्बिदै जानेछ
यो नक्सा खेती
कहिले वाइडवडी चढेर उड्नेछ
कहिले लाउडा चढेर उड्नेछ
यो नक्सा खेती
साझा सत्ता बजार हो जागुराम
यो एमसिसी चढेर उड्नेछ
सुस्तामा सुतेर
लिम्पियामा उठ्ने
यो नक्सा खेती हो जागुराम
जाग जागुराम जाग
आफुले चिरेका दाउरा
आफै बाल्न जाग
दिलमा देश हुनेले
नक्सा काटेर केक खाँदैन ।
यता न उता
जनता भोकले
माटो र भ्यागुतो खाँदै गरेको बेला
मदारीले नृत्यको चाल बदल्यो
हिजो मदारी बंकर नृत्य नचाउँदै थिए
आज मदारी नक्सा नृत्य नचाउँदै छन् ।
माटो यताको
पजनी उताको
यो नक्सा खेती
भोट खेती हो जागुराम
हामीलाई नक्सा खेती होईन
हामीलाई नक्सा चाहियो
हामीलाई माटो चाहियो
जाग जागुराम जाग
आफुले चिरेको दाउरा
आफै बाल्न जाग
नक्सा खेती भन्दा
माथि उठेर
नक्सा हेर जागुराम ।
नोट
पोगटो : धान खेतिमा भुसमात्रै लागेको फल
नचनीः पुरुषले महिलाको लुगा लगाएर नाच्ने (जोक्कर)