
नुवाकोट ।
संघीय निर्वाचनको सरगर्मी बढेसँगै विभिन्न चुनाव क्षेत्रमा आकांक्षीहरुले आ-आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । नुवाकोट क्षेत्र १ मा पनि नेताहरुले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । गठबन्धनबाट सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेस दुवै दलका नेताहरुले सो क्षेत्रमा आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । केन्द्रमा निर्क्योल नभइसकेकाले माओवादीबाट हितबहादुर तामाङ र काँग्रेसबाट डा. प्रकाशशरण महतले दाबी प्रस्तुत गर्दै आएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङले गठबन्धन बन्दा पनि आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट १ मा आफ्नो दलकै उम्मेदवार हुने दाबी गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा बनेको सिट बाँडफाँटको मापदण्ड र माओवादीको प्रभाव क्षेत्रका हिसाबले माओवादीकै उम्मेदवार हुने उहाँको तर्क छ ।
यता नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पनि नुवाकोट १ बाट आफू प्रत्यक्ष निर्वाचन लड्न चाहेको बताउनुभएको छ । आज आफ्नै निवासमा केही पत्रकारसँग भेटघाट कार्यक्रम राखी महतले सो क्षेत्रका लागि आफूले विकासका काम गरेको दाबी गर्नुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले जिल्लाको शक्ति विन्यासको हिसाबले हेर्दा पनि माओवादी केन्द्र तुलनात्मक रुपमा त्यही क्षेत्रमा बलियो देखिएकोले नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको उम्मेदवार हुने बताउनुहुन्छ । ‘स्थानीय तहमा पनि एक खालको मापदण्ड बनाएका थियौं । अब पनि आधार बनाइन्छ । त्यो आधार भनेको जसले जहाँ जितिराखेको छ, त्यहाँको उम्मेदवार त्यही दलको हुन्छ । जहाँ गठबन्धन दलका छैनन्, एमाले या अरु कुनै दलले जितिराखेको क्षेत्रमा चाहिँ ०७४ को निर्वाचनमा जुन दल दोस्रो भएको थियो, त्यही दलको उम्मेदवार बन्ने कुरा हुन्छ,’ उहाँको भनाइ थियो, ‘त्यो हिसाबमा नुवाकोट क्षेत्र नं १ मेरो संघीय निर्वाचन क्षेत्र । जहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट मैले जितेको छु । र, त्यो क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार हुन्छ ।’ उम्मेदवार को बन्ने भन्नेबारेमा भने पार्टीले तय गर्ने उहाँको भनाइ थियो । ‘मै उम्मेदवार हुन्छु त नभनौं । दलले जसलाई पनि उठाउन सक्छ ।’
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्रका प्रभावशाली नेताहरु भएको नुवाकोट क्षेत्र नम्बर १ मा कुन पार्टीले टिकट लिने भन्ने तँछाडमछाड हुने देखिएको छ । स्थानीय तह निर्वाचनमा पनि शक्ति संघर्षका कारण उक्त क्षेत्रका पालिकाहरुमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए ।
कांग्रेसका प्रभावशाली भनिएका नेताहरु रामशरण महत, प्रकाशरण महतको गृहपालिका पञ्चकन्यामै माओवादी केन्द्रका उम्मेदवारले दोस्रो पटक जितेका छन् । अघिल्लो निर्वाचनमा पञ्चकन्या र ककनीमा जित हात पारेको माओवादीले यसपालि दुप्चेश्वरमा पनि जित हात पारेको छ ।