पत्याउनुहुन्छ, मर्नुअघि नै स्वर्गको सर्टिफिकेट धर्तिमै पाइन्छ भन्ने कुरा ? जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासत कक्षमा पुग्नुभयो भने भेट्नुहुन्छ त्यस्ता कारोबारीलाई, जसले मान्छेहरुसँग स्वर्ग जाने सर्टिफिकेट भिडाएर पनि गुजारा चलाएका छन् ।
यी तिनै व्यक्ति हुन्,जसले कोरोना भाइरसबारे गरिव,अशिक्षित, सीमान्तकृत समुदायमा भ्रम छर्दै हिँडेका थिए । जुम्ला, सिँजा गाउँपालिका– १ घर भई पोखरा उपमहानगरपालिका ३२ बस्ने क्रिस्चियन धर्मका पास्चर केशव आचार्य हुन्, जसले सोझासीधा मानिसलाई सीधै स्वर्ग पुग्न पाइन्छ भन्दै प्रवचन दिने गरेको । ‘जा कोरोना भाग’ भन्दै प्रार्थना गरेको र गराएको उनको भिडियो दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई दुई साताअघि पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा म्याद थप गरिसकेको छ ।
हिरासतमा पुगेपछि पनि भ्रम छर्न बाँकी राखेका छैनन् । त्यहाँ रहेका थुनुवालाई भन्न भ्याइसके, ‘प्रभुले तपाईंहरु अप्ठेरोमा पर्नुभएको छ भनेर ढाडस दिन मलाई पठाउनुभएको हो ।’ उनलाई छिटो रिहाई गर्नुपर्ने दबाबका लागि गण्डकी प्रदेशका सामाजिक विकास तथा कानुन मन्त्री हरिबहादुर चुमान,भरतपुर महानगरकी उपमेयर पार्वती शाह ठकुरीदेखि पोखरा महानगर–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीसहित सयभन्दा बढीले प्रहरीलाई फोन गरिसकेका छन् ।
यसरी फोन गर्नेहरुले ‘त्यो किन छुटेन, छोडिहाल्नुस्’ जस्ता कुरा गरेको एकजना प्रहरी अधिकृतले बताए । हुँदाहुँदा उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिने कास्कीका सिडिओ आफैँले म्याद थपेको हुँ भन्ने कुरा बिर्सिएर प्रहरीलाई फोन गर्न भ्याएका छन् , ‘साच्ची त्यो मान्छे कहिले छुट्छ हँ?’।
प्रदेशका सामाजिक विकास मन्त्री हरिबहादुर चुमानलाई त केही समयअघि कास्कीका एसपी दानबहादुर कार्कीले सार्वजनिक रुपमै आलोचना गरे । प्रदेशका सिडिओ र प्रहरी प्रमुखहरुको अन्तरजिल्ला समन्वय बैठकमा एसपी कार्कीले मन्त्रीलाई इंगित गर्दै भनेका थिए, ‘असारदेखि चारवटा ब्रेथलाइजर चाहियो भनेर मागेको, साउनमा त चिठी नै लेखेको । तर,अहिलेसम्म पाइएन,पुलिस चलाउने रहर गरेर मात्रै पुग्दैन मन्त्रीज्यू, जिम्मेवारी पनि लिनुपर्यो ।’
जनआस्थामा खबर छ ।