‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहनुभएन ।
७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो । एक साताअघि ब्रेन स्ट्रोक भएपछि उहाँलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका बिरामी हुनुहुन्थ्यो । २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएका टुहुरेले एक सय ५० भन्दा बढी गीत रेकर्ड गराउनुभएको छ ।
उहाँ दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बन्नुभएको थियो । २०७५ सालमा उहाँको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ ।
जेबी टुहुरे पञ्चायतकालीन समयमा जनवादी गायकका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले गाउनुभएका गीत पञ्चायती कालरात्रिविरुद्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शोषित र उपेक्षित किसान र मजदुरको आवाज बन्यो । उहाँ आफ्ना गीतमा असमानताले थिचिएका विपन्नको आवाज बनाउनुहुन्थ्यो ।
सरल र सहज स्वभावका टुहुरे सधैं सत्ताका विरोधी रहनुभयो । सत्तामा पुगेपछि आफ्नै साथीहरू पनि परिवर्तन हुने उहाँको भनाइ थियो । उहाँले दिएका धेरै अन्तर्वार्तामा यस्ता कुरा आउँथे । तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक हुनुहुन्थ्यो । ०४६ को परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहनुहुन्थ्यो ।
जनगायक टुहुरेप्रति भावपूर्ण श्रद्धाञ्जली !









































